२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पुरुष क्रिकेटमा माल्दिभ्सलाई ५ विकेटले पराजित नेपालले जित्याे कास्य

२३ मंसिर, काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको क्रिकेटमा नेपालले कास्य पदक जितेको छ । तेस्रो स्थानका लागि सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै कास्य जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले माल्दिभ्सलाई निर्धारित २० ओभरमा ९४ रनमा समेटेको थियो ।

माल्दिभ्सले ९ विकेट गुमाएर ९४ रन बनाएको हो । ९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५ विकेटको क्षतिमा १७ औं ओभरको पहिलो बलमा लक्ष्य हासिल गरेको हो ।नेपालका लागि आरिफ शेखले ३२ रनको योगदान गरे । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए भने विनोद भण्डारीले १२ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए । उनले चार ओभरमा मात्र ६ रन खर्चदैँ तीन विकेट हात पारेका हुन् । यस्तै, सुशन भारीले दुई, पारश खड्काले एक विकेट लिए ।

माल्दिभ्सका लागि लीम शफिगले सर्वाधिक १९ रन बनाएका थिए । यस्तै, मोहम्मद रिशवानले १७, मोहम्मद मोहफुजले १६ र उमर अदामले ११ रन बनाए । माल्दिभ्सले रन आउटका रुपमा तीन विकेट गुमाएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार १२:३८