साग फुटबलको ऐतिहासिक यात्रामा भुटान, फाइनल पुग्ने पहिलो टिम
२२ मंसिर, काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानले अहिलेसम्म एउटा पनि स्वर्ण जित्न सकेको छैन । ११० स्वर्ण जित्दै भारत अंक तालिकाको शीर्ष स्थान र ४३ स्वर्णसहित नेपाल दोस्रो स्थानमा रहँदा भुटान पुछारमा छ । भुटानले पदकको नाममा ६ कास्य मात्रै जितेको छ ।
तर, पुरुष फुटबलमा भने भुटानले सनसनीपूर्ण पुनरागमन गर्दै कम्तीमा रजत निश्चित गरेको छ । नेपालसँग ४-० को फराकिलो अन्तरले पराजित भुटान ३ खेल जित्दै फाइनलमा पुगेको छ ।
सागको ३५ वर्षे यात्रामा भुटान फाइनल पुगेको यो पहिलोपटक हो । भारतले सहभागिता नजनाएपछि राउन्ड रोबिनका आधारमा खेलाइएको फुटबलमा भुटानले श्रीलंका, बंगलादेश र माल्दिभ्सलाई पराजित गरेको छ ।
९ अंक जोड्ने क्रममा श्रीलंकालाई ३-०, बंगलादेशलाई १-० र माल्दिभ्सलाई २-१ ले पराजित गरेको छ । शनिबार श्रीलंकालाई पराजित गरेपछि भुटानी टिममा खुसी छाएको छ ।
लिग चरणको अन्तिम खेलमा नेपाल-बंगलादेशबीच स्पर्धा हुनेछ । आज (आइतबार) साँझ ५ बजेदेखि हुने यो स्पर्धाको विजेता टोलीसँग भुटानले फाइनलमा स्वर्णका लागि भिड्नेछ । यो खेलमा नेपालले बंगलादेशलाई बराबरीमा रोके पनि फाइनलमा पुग्नेछन् । नेपालको ७ अंक छ । बंगलादेशले ४ अंक जोडेको छ । नेपालले उक्त खेलमा हार बेहोरे सामान अंक हुँदा-हुँदै हेड टु हेडका आधारमा नेपाललाई उछिन्दै बंगलादेशले भुटानसँगको भेट सुनिश्चित गर्नेछ । भुटानले पदक तालिकामा अहिलेसम्म ६ कास्य मात्रै जितेको छ ।
प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ०७:१६