२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

१३औं साग : राष्ट्रपति भण्डारीबाट औपचारिक उद्घाटन

१५ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद सागको आज राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच राष्ट्रपति भण्डारीले कार्यक्रम उद्घाटन गर्नेछिन् ।

करिब तीन घण्टा चल्ने उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाडीको मार्च पासका अतिरिक्त नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुतिको तयारी गरिएको छ ।

उद्घाटनका अवसरमा सातै मुलुकको संस्कृतिक झल्कने विविध सांस्कृतिक कार्यक्रम गरिनेछ । प्रतियोगीतामा सहभागी सातै देशका राष्ट्रिय झन्डोत्तोलन कार्यक्रम भने भइसकेको छ । काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गतेसम्म सागका प्रतियोगिताहरु सञ्चालन हुनेछन् ।

उद्घाटन समारोहमा १५ हजारभन्दा बढी दर्शकको सहभागिता रहनेछ । दक्षिण एसियाली मुलुकबीचको यसलाई खेलकुद उत्सवका रुपमा लिने गरिएको छ । सागको यसपटकको मस्कट भने ‘कृष्णसार’ राखिएको छ ।

प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलंकाका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन् । तयारी समिति संयोजक रिमबहादुर रानाभाटका अनुसार प्रतियोगितामा ५ सय ९४ खेलाडीको सहभागी हुनेछन् । यसका लागि करिब १८ हजार सुरक्षाकर्मी र ५ सय स्वयंसेवक परिचालन गरिएको छ । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृंखलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

सन् १९८४ मा पहिलोपटक नेपालबाट सुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । सन् १९९९ मा नेपालमा दोस्रोपटक साग आयोजना गरिएको थियो । प्रतियोगिताअन्तर्गत महिला फुटबल, ब्याडमिन्टन, आर्चरी, भारत्तोलन, बिच भलिबल, ट्रायथलन, ह्यान्डबल पोखरामा तथा जनकपुरमा कुस्ती खेल हुनेछ ।

यसैबीच आज काठमाडौं उपत्यकामा जोड-बिजोड प्रणालीअन्तर्गत बिजोड नम्बरका सवारीसाधन मात्र सञ्चालन गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आईतवार ०७:१४