२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पुरुष भलिबलमा नेपाल-भारतको प्रतिस्पर्धा आज

१३ मंसिर, काठमाडौं १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा नेपालले दक्षिण एसियाको पावर हाउस मानिने भारतको आज (शुक्रबार) सामना गर्दै छ । नेपालले प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेल भारतसँग खेल्न लागेको हो ।

खेल त्रिपुरेश्वरस्थित कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ । नेपाललाई सेमिफाइनलको आशा जीवितै राख्न भारतसँगको खेल जित्नै पर्ने दबाब छ । तर, नेपाललाई खेल जित्न सजिलो छैन । सागको तयारीका लागि भारतसँगका तीन मैत्रीपूर्ण खेलमा पनि नेपाल सोझो सेटमै पराजित भएको थियो ।

जारी प्रतियोगितामा नेपालको सुरुवात सुखद हुन सकेन । प्रतियोगिताको उद्घाटन खेलमा नेपाल बंगलादेशसँग ३-२ ले पराजित भयो । भारत भने प्रतियोगिताको पहिलो खेल खेल्दै छ ।

आजै हुने समूह ‘बी’को खेलमा श्रीलंका र माल्दिभ्स राति ७ बजे प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार ०८:२८