२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

युरोपा लिगमा युनाइटेड र आर्सनल पराजित

१३ मंसिर, काठमाडौं इंग्लिस जाइन्ट म्यानचेस्टर युनाइटेड र अर्को उपाधि दाबेदार आर्सनल युरोपा लिग फुटबलमा पराजित भएका छन् । युनाइटेड काजिकिस्तानको क्लब एफसी अस्टनासँग २-१ ले पराजित हुँदा आर्सनल भने जर्मनीको क्लब इन्ट्राच्ट फ्रान्फर्टसँग २-१ बाटै पराजित भयो ।

दुवै इंग्लिस क्लबले सुरुवाती अग्रता जोगाउन नसक्दा हार व्यहोरेका थिए । आर्सनलले पहिलो हाफको अन्तिम मिनेटमा पिएरे अउब्यामेयाङको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । तर, घरेलु मैदानमा आर्सनल दोस्रो हाफमा लगातार २ गोल खान पुग्दा पराजित भयो ।

फ्रयांकफर्टका लागि ५५ र ६४ मिनेटमा जापानी खेलाडी दाइची कामदाले २ गोल गर्दै टिमलाई जित दिलाएका थिए ।

बिहीबार राति भएको समूह चरणको खेलमा युनाइटेड काजकिस्तानको क्लब एफसी अस्टनासँग उसकै मैदानमा पराजित हुन पुगेको हो । युनाइटेडले खेलको १०औं मिनेटमा जेसे लिंगार्डले युनाइटेडलाई अग्रता दिलाए । खेल सुरु भएको १० मिनेटमानै पाएको अग्रतापछि युनाइटेड केही आत्माविश्वासी देखिएको थियो । उसले गोलका केही राम्रा अवसर पनि बनायो । तर, पहिलो हाफमा उसले थप गोल गर्न नसक्दा १-० कै अवस्थामा युनाइटेड अग्रता कायम गर्न सफल भयो ।

५५औं मिनेटमा दिमित्री शोम्कोले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीको अवस्थामा पुर्‍याए । घरेलु दर्शकको उल्लेख्य साथ रहेको खेलको ६२औं मिनेटमा डी शोन बर्नार्डले आत्मघाती गोल गर्दा अस्टना २-१ ले विजयी रहन सफल भयो । पराजयका वाबजुद युनाइटेड समूह एलमा १० अंकका साथ शीर्ष स्थानमा छ । -एजेन्सी

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार ०८:१३