२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

१३औं साग : पुरुष भलिबलमा नेपाल पराजित

१२ मंसिर, काठमाडौं १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको उद्घाटन खेलमा बंगलादेशसँग नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा नेपालले बंगलादेशलाई २-३ को नतिजा सुम्पियो ।

पहिलो सेट २५-२१ ले जितेको नेपालले दोस्रो सेट २३-२५ ले गुमायो । तेस्रो सेट नेपालले २५-१९ ले आफ्नो पक्षमा पार्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा नेपाल २४-२६ ले पराजित भयो । १५ अंकमा निर्णय हुने पाँचौं सेटमा नेपाल १२-१५ ले पराजित भयो ।

जितसँगै बंगलादेशले २ अंक पायो । नेपालले भने १ अंकमा चित्त बुझाउनुपर्‍यो । पाँचौं सेटसम्म पुगेकाले नेपालले उक्त अंक पाएको हो ।

पुरुष भलिबलमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा भारत र बंगलादेश छन् । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन् ।

साग मंसिर १५ मा उद्घाटन हुने भए पनि भलिबल खेल भने बुधबार सुरु भएको हो । प्रतियोगिताअन्तर्गत यसअघि भएको महिला भलिबलमा भने नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार ०७:५२