१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

१२ मंसिर, सिन्धुली । जिल्लाको पर्यटकीय क्षेत्र गोलान्जोर डाँडामा आकर्षक भ्युटावर निर्माण गरिएको छ । पर्यटन प्रवर्द्धन गरी आम्दानीको स्रोत बढाउन गोलान्जोर गाउँपालिकाले वडा ४, ५ र ६ को सिमानामा रहेको गोलान्जोर डाँडामा ८६ लाख रुपैयाँको लागतमा भ्युटावर निर्माण गरेको हो ।

गाउँपालिकाका प्रवक्ता दौलत कार्कीका अनुसार भ्युटावर निर्माणका लागि गत आव ०७५/७६ मा १ करोड ४ लाख रुपैयाँमा टेन्डर भएकोमा ८६ लाख रुपैयाँमा तामाङ मरिण कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो ।

९ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७५ मा सम्झौता गरी निर्माण सुरु गरिए पनि निर्माणस्थलमा सामान लैजान सडक निर्माण गर्नुपर्ने र सडक निर्माणमा लामो समय विवाद भएकाले निर्माण कार्य ढिलो भएको उक्त कम्पनीले जनाएको छ ।

९ महिनामा निर्माण सक्ने गरी सम्झौता भएकोमा सुरुको ६ महिना जति कामै हुन सकेन, निर्माणमा खटिएका ओभरसियर नीराजन बस्नेतले भने, ‘तोकिएको समयमा काम नसकिएपछि ३ महिना म्याद थपिएको थियो । अहिले सबै काम सकिएको अवस्था छ । रेलिङ हाल्न बाँकी छ, त्यो काम पनि १५ दिन जतिमा सकिन्छ ।’

बहुवर्षे आयोजनाअन्तर्गत निर्माण भइरहेको टावरले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने लक्ष्य राखिएको स्थानीयले बताएका छन् । भ्युटावर निर्माणसँगै गोलान्जोर डाँडा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक स्थलको रूपमा विकसित भएको गोरखापत्र दैनिकमा खबर छ ।

गोलान्जोर डाँडा दृश्यावलोकनका लागि ज्यादै उपयुक्त रहेकाले गाउँपालिकाले भ्युटावर निर्माण गरेको स्थानीय शिक्षक लेखबहादुर बस्नेत बताउँछन् । ‘अहिलेसम्म चार तला बनेको छ, तला थप्दै जाने योजना छ,’ उनले भने, ‘गोलान्जोर डाँडामा ठूलो टार छ । त्यहाँबाट तराई र हिमालको ठूलो भूभाग देख्न सकिन्छ ।

फिक्कल गाउँपालिकाले पनि वडा ३ मा भ्युटावर निर्माण गरिरहेको छ । अहिलेसम्म करिब १ करोड ६ लाख रुपैयाँ लगानी भइसकेको फिक्कल भ्युटावर निर्माण समितिका अध्यक्ष प्रेमबहादुर थापा मगरले बताए । ‘टावर निर्माण धमाधम भइरहेको छ,’ वडाध्यक्ष टेकबहादुर रजन मगरले भने, ‘हालसम्म करिब ६५ प्रतिशत काम सम्पन्न भइसक्यो ।’ ६४ फिट अग्लो टावरको सात तला निर्माण हुने र हालसम्म पाँच तला निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार ०६:५९