१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

२६ वर्षदेखि बन्द गोकुलेश्वर विमानस्थलको निर्माण यसै वर्ष सुरु हुने

१० मंसिर, दार्चुला । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाको गोकुलेश्वर विमानस्थल चालू आर्थिक वर्षभित्रै निर्माण सुरु हुने भएको छ । २६ वर्षदेखि बन्द विमानस्थलको प्राविधिक प्रतिवेदन तथा स्थलगत निरीक्षण भएसँगै विमानस्थल निर्माण सञ्चालन हुने भएको हो ।

गत कात्तिक अन्तिम साता नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले दिएको प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोगको टोलीले गोकुलेश्वर विमानस्थलको स्थलगत निरीक्षण गरेको थियो । आयोगका सदस्य डा. रामकुमार फुँयालले विमानस्थल निर्माण चालू आवभित्रै सञ्चालन हुने जानकारी दिए । “प्राविधिक प्रतिवेदनका आधारमा गोकुलेश्वर विमानस्थललगायत सुदूरपश्चिमका अन्य विमानस्थलको निरीक्षणमा आएका हौँ,” उनले भने, “गोकुलेश्वर विमानस्थल सञ्चालन गर्न धेरै समस्या छैन ।”

उनले दार्चुला-बैतडी जोड्ने चमेलिया पुलका कारण त्यति धेरै समस्या नभएको तर विमानस्थल सञ्चालन गर्न मैदानमा माटो थप्नुपर्ने बताए । यस्तै, सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसका केही भाग तथा चार निजी घरले थोरै समस्या भए पनि विमानस्थल सञ्चालन गर्न गाह्रो नभएको उनको भनाइ छ ।

विमानस्थल माटो भरेर निर्माण गर्न सकिन्छ । यसका लागि झन्डै ५ करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ । २ जिल्ला जोड्ने मोटरेबल पुल हटाउँदा ३० करोड रूपैयाँ खर्च हुन्छ । नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर प्रतीक प्रधानको टोलीले दिएको प्राविधिक प्रतिवेदनअनुसार अहिले विमानस्थलको अवस्थाबारे निरीक्षण भइरहेको छ । आयोगका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसमेत हेर्दै आएका सदस्य फुँयालले विमानस्थल निर्माणको औचित्यसहितको प्रतिवेदन स्वीकृतिसँगै निर्माण अघि बढ्ने बताए ।

२०५०/५१ देखि पूर्ण रूपमा बन्द गोकुलेश्वर विमानस्थल सञ्चालन गर्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद् गणेशसिंह ठगुन्नालगायतको पहलले गर्दा अहिले प्राविधिक निरीक्षण भएको हो । चालू आवमा विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन, सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, स्तरोन्नति लगायतका लागि सरकारले १ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

तत्कालीन बोहरीगाउँको देवथलीमा प्रस्ताव गरिएको विमानस्थल निर्माण गर्न स्थानीयले स्वीकृति नदिएपछि चमेलिया नदीकिनारमा रहेको गोकुलेश्वरमा २०४४/४५ तिर विमानस्थल निर्माणको काम सुरु भएको थियो । ०४६ देखि सञ्चालनमा आएको विमानस्थल २०५० देखि पूर्ण रूपमा बन्द छ । तत्कालीन सशस्त्र द्वन्द्वका कारण विमानस्थल पुनः सञ्चालन गर्न सकिएको थिएन ।

२०६० देखि कार्यालय सहयोगीका भरमा छाडिएको विमानस्थल अहिले जीर्ण छ । यो विमानस्थल गाई, भैंसी चरन तथा खेलमैदानका रूपमा प्रयोग हुँदै आएको छ । नेपाल भ्रमण वर्ष सुरु हुनै लाग्दा सरकारले देशभर बन्द रहेका र नयाँ निर्माण गर्नुपर्ने विमानस्थलको निरीक्षण, सम्भाव्यता अध्ययन र स्तरोन्नतिको काम थालनी गरेको छ । विमानस्थल सञ्चालन गर्न सके दार्चुला, बैतडी र बझाङका नागरिक लाभान्वित हुनेछन् । पर्यटन विकास, जनजीविका, व्यापार र यस क्षेत्रको विकासका लागि यो विमानस्थल निर्माण जरुरी रहेको आयोगका सदस्य फुँयाल बताउँछन् ।

प्राविधिक रूपले यो विमानस्थलको लम्बाइ र चौडाइ पनि बढी नै छ । बैतडीको पाटन विमानस्थलभन्दा गोकुलेश्वर विमानस्थलको लम्बाइ र चौडाइ बढी छ । विमानस्थलका लागि सामान्यत: ६ सय मिटर लम्बाइ र ४० देखि ५० मिटर चौडाइ हुनुपर्ने हुन्छ । विमानस्थलको लम्बाइ ६ सय ५० तथा चौडाइ ८७ देखि १३५ मिटर रहेकाले सञ्चालन गर्न उपयुक्त रहेको फुँयालको भनाइ छ ।

विमानस्थल सञ्चालन नहुँदा पर्यटकीय र व्यापारिक सम्भावना बोकेको दार्चुलाको पर्यटन प्रर्वद्धन हुन सकेको छैन । प्रदेश राजधानीबाट झन्डै ३ सय ५० किमि सडकमार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ ।

यस क्षेत्रको पर्यटकीय विकासका लागि आयोगले विशेष ध्यान दिएको भन्दै उनले सरकारको प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माणाधीन दार्चुला-तिंकर सडक, महाकाली करिडोर निर्माण र अन्य सडक प्राथमिकताका साथ अघि बढाइने बताए । हामीले महाकाली करिडोर अन्तर्गतको दार्चुला-तिंकर सडक निर्माणलाई कूटनीतिक र रणनीतिक रूपमा निर्माण गर्नुपर्नेमा उनको जोड छ ।

यस क्षेत्रको विकासका लागि दार्चुलामा निर्माणाधीन महाकाली करिडोरअन्तर्गत दार्चुला-तिंकर, गोकुलेश्वर-विटुले-पारिबगर-खण्डेश्वरी, गोकुलेश्वर-खार-खलंगा सडक तथा महाकाली करिडोरको लाली क्षेत्र भएर आउने सडक निर्माण पहिलो प्राथमिकतामा राखेर योजना अघि बढाइनुपर्ने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सुझाए । यी सडक पूर्वाधार र हवाई यातायात सञ्चालन गर्न सकिने हो भने दार्चुलाको पर्यटकीय दृष्टिकोणले महत्त्व बढ्ने उनको भनाइ छ ।

जिल्लाको अपि नाम्पा संरक्षण क्षेत्र सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यको सूचीमा छ । अपि नाम्पा संरक्षण क्षेत्रभित्र अपि हिमाल, नाम्पा हिमाल, कापु, जेठबहुरानीलगायत उच्च हिमशृङ्खला छन् । यार्सागुम्बालगायत ७५ प्रकारका जडीबुटी र २२ प्रकारका वन्यजन्तु यही क्षेत्रमा छन् ।

दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्ना पर्यटकीय क्षेत्रको विकासका लागि हवाई र सडक यातायात प्रभावकारी बनाउनुपर्नेमा जोड दिन्छन् । हामीसँग सडक पूर्वाधार निर्माण गरिएका छैनन् । होटल व्यवस्थापन गरिएको छैन । नेपाल भ्रमण वर्षका लागि भए पनि सरकारले पूर्वाधार क्षेत्रको विकासलाई द्रुत गतिमा निर्माण गर्नुपर्नेमा उनको जोड छ ।

सरकारले यस वर्ष दार्चुलामा पदमार्ग निर्माण, पूर्वाधार निर्माणलगायतमा झन्डै डेढ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । सोअनुसार राप्ला-व्यास हुँदै कैलाशमार्ग निर्माणका लागि ३५ लाख रुपैयाँ, खण्डेश्वरी-घुसा हुँदै अपि आधार शिविरसम्मको पदमार्ग निर्माणका लागि २५ लाख रूपैयाँ, उकु-महललगायत पूर्वाधार निर्माणमा ६० लाख रूपैयाँ विनियोजन गरेको छ ।

आयोगको टोलीले बैतडीमा निर्माणाधीन पाटन विमानस्थलको पनि स्थलगत निरीक्षण गरेको छ । पुस मसान्तभित्र निर्माण सक्ने लक्ष्य लिइएको पाटन विमानस्थलको काम यही महिनाभित्र सकिने आयोगका सदस्य फुयाँलले बताए । विमानस्थलको पर्खाल, ढल निकास तथा टावर निर्माण गर्न सकियो भने चाडै बैतडीको पाटन विमानस्थल सञ्चालन हुने उनको भनाइ छ । टोलीले डडेलधुराको अजयमेरुकोट विमानस्थल तथा धनगढी विमानस्थलसमेत निरीक्षण गरेको छ । –रासस

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलवार ०९:०२