१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

वाग्मती तीर्थयात्रा भोलि पशुपतिमा समापन हुँदै


१६ वैशाख वैशाख १० गते सोमबारदेखि शुरु भएको वाग्मती तीर्थ यात्राको सातौँ दिनको कार्यक्रम बज्रयोगिनीबाट शुरु भई पशुपति परिसरमा आइपुगेको छ ।

बज्रयोगिनीबाट आज बिहान ७ बजे शुरु भएको यात्रा चाँगुनारायण–शंखतीर्थमा पूजा एवम् दर्शन गरी पशुपति क्षेत्र आइपुगेको हो । पशुपति आइपुगेको यात्रा समूहले गुह्येश्वरी, मृगेश्वर (हरिणेश्वर) मा पूजा र दर्शन गरेको यात्रा संयोजक वरुण खतिवडाले राससलाई जानकारी दिनुभयो । यात्राका क्रममा आज दुई तीर्थ स्नान गरियो ।

बज्रयोगिनीमा रहेको नेमुनिको प्राचीन मन्दिरमा यात्राको संकल्प गरिएको कुशको औँठी चढाउनुपर्ने विधिसमेत पूरा भयो । नेमुनिको मूर्तिमा घ्यूले मालिस गर्ने यात्राको नियम छ । बज्रयोगिनीमा हवनसमेत गरियो ।

पशुपति आएपछि आजै विरुपाक्षलाई पनि दही च्यूरा खुवाइएको उहाँले बताउनुभयो । वाग्मती फोहर हुँदै गएपछि विसं २०३४ मा रोकिएको वाग्मती तीर्थ यात्रा ४० वर्षपछि सोमबारदेखि पशुपतिनाथ परिसरबाट शुरु भएको थियो ।

लामो समयपछि वाग्मती तीर्थ यात्रा शुरु भएकाले स्थानीयवासीमा उत्साह बढेको यात्रा समूहले जनाएको छ । स्थानीयवासीले प्रत्येक तीर्थस्थलमा यात्रा समूहलाई स्वागत गर्दै अब प्रत्येक वर्ष निरन्तरता दिन माग गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

रोकिएको यात्रा ४० वर्षपछि पुनः सञ्चालन गर्न कोषले नेतृत्वदायी भूमिका निर्वाह गरेको थियो । यात्रामा गरिनुपर्ने विधि विधानका सबै काम पशुपति आगम घरका पुजारी मदन भट्टले पूरा गरिरहनु भएको छ । १७ दिनको यात्रालाई यस वर्ष सात दिनमा झारिए पनि विधि सबै पूरा गरिएको उहाँले बताउनुभयो ।

वाग्मती यात्रा सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पनि विशेष चासो दिएको थियो । मन्त्रालयले १०० दिनभित्र गर्ने काममा वाग्मती यात्रासमेत परेको छ । यो कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले गत चैत १६ गते सार्वजनिक गर्नुभएको थियो ।

नेमुनिले चलाएको विश्वास गरिने यो यात्रा वाग्मतीको कटुवाल दहबाट उद्गमस्थल वाग्द्वारसम्म १८ कोशको दूरीमा सञ्चालन हुन्छ । यात्रामा १६५ तीर्थस्थलमा स्नान, पूजालगायत धार्मिक विधि पूरा गरिन्छ । वाग्मती यात्रामा वैदिक र तान्त्रिक दुवै विधिबाट पूजा गरिने पुजारी भट्टले जानकारी दिनुभयो ।

यस क्रममा विभिन्न स्थानमा वाग्मतीको तन्त्र साधनासमेत गरियो । सोमबार बिहान रुद्रगाडेश्वरमा पूर्णाहुति हवनसहित यात्राको साङ्गे गरिनेछ । पशुपतिनाथका मूल भट्ट गणेश भट्टको उपस्थितिमा भक्ति र शास्त्रीय संगीतसमेत गरी यात्रा समापन गरिनेछ । रासस

प्रकाशित मिति : १६ बैशाख २०७५, आईतवार २१:०९