२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

ला लिगामा बार्सिलोनाको कठिन जित

८ मंसिर, काठमाडौं । तालिकाको पुछारमा रहेको लेगानेसविरुद्ध २-१ संघर्षपूर्ण जित निकाल्दै बार्सिलोनाले स्पेनिस ला लिगमा महत्त्वपूर्ण ३ अंक जोड्न सफल भएको छ । लेगानेसको घरेलु मैदान इस्टाडियो म्युनिसपलमा भएको खेलमा बार्सिलोनाले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकाल्न सफल भएको हो ।

पहिलो हाफमा पछि परेको बार्सिलोनाले दोस्रो हाफमा २ गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । लेगानेसका लागि युसुफ इन न्यास्रीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

बार्सिलोनाले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै खेलमा फर्किएको हो । बार्सिलोनाका लागि लुइस स्वारेजले ५३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि आक्रामक देखिएको बार्सिलोनाका लागि अटुरो भिडालले ७३औं मिनेटमा गोल गर्दै अग्रता उल्टाए ।

घरेलु टोली लेगानेस खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन । शनिबार संघर्षपूर्ण जित निकालेको बार्सिलोनाले १३ खेलबाट २८ अंक जोड्दै शीर्षता कायम राखेको छ । पराजित लेगानेसको १४ खेलबाट ६ अंक छ । लेगानेस तालिकाको पुछारमा छ । –एजेन्सी

प्रकाशित मिति : ८ मंसिर २०७६, आईतवार ०८:००