म्याग्दीमा दश वर्षीया बालिका बलात्कृत
१६ वैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा दश वर्षीया बालिका बलात्कृत भएकी छन् । स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्वशिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत ती बालिकालाई बलात्कार गरेका हुन् ।
अनुसन्धानका क्रममा उनले गत मंसिरदेखि विभिन्न समयमा ती बालिकालाई बलात्कार गर्दै आएको खुलेको छ । परिवार र स्थानीयवासीले घटनाबारे गाउँपालिका उपाध्यक्ष केशमायाँ पुनमगरलाई जानकारी गराएपछि उनकै समन्वयमा प्रहरीले आरोपित पुनलाई शनिबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
फौज्दारी मुद्दा भएकाले गाउँपालिकाको न्यायिक समितिले उक्त मुद्दालाई प्रहरीको समन्वयमा कानूनी प्रक्रिया अघि बढाएको उपाध्यक्ष मगरले बताउनुभयो । पीडित बालिकाकी परिवार आर्थिक अवस्था कमजोर रहेका कारण पूर्वशिक्षक पुनले विभिन्न आर्थिक प्रलोभन देखाउने र बलात्कार गर्ने गरेको पाइएको उहाँको भनाइ छ ।
पीडित बालिकालाई शनिबार दिउँसो सदरमुकाम ल्याएर स्वास्थ्य परीक्षण गरेपछि आवश्यक औषधिसँगै स्वास्थ्य परामर्श दिइएको छ । प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले आरोपित पुनलाई नियन्त्रणमा लिएर कारबाहीका लागि कानूनी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
प्रकाशित मिति : १६ बैशाख २०७५, आईतवार १८:१७