१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

श्रीलंकामा भाइ राष्ट्रपति, दाइ प्रधानमन्त्री !

५ मंसिर, कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेका छन् । गृहयुद्धको कारण बनेका तमिल टाइगर्सविरूद्धको लडाइँमा सशक्त भूमिका निर्वाह गरेका महिन्दाले सन् २००५ देखि २०१५ सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि महिन्दाको नाम सिफारिस गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

नवनियुक्त प्रधानमन्त्रीले सन् २०२० को मार्चमा संसदीय निर्वाचन नहुँदासम्म काम गर्नेगरी जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयको भनाइ छ । महिन्दाकै नेतृत्वमा १५ सदस्यीय कामचलाउ मन्त्रीमण्डलको गठन हुन लागेको पनि स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

गोतावायले राष्ट्रपतिमा विक्रमासिंघेको समर्थन पाएका युनाइटेड नेसनल पार्टीक सजित प्रेमादासालाई करिब १३ लाख मतान्तरले पराजित गरेका थिए । -एजेन्सी

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार ०९:१६