१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

काश्मीरमा हिमपहिरो, ४ सैनिक र २ भरियाको मृत्यु

३ मंसिर, नयाँदिल्ली । भारत प्रशासित काश्मीरमा रहेको सियाचिन हिम नदीमा पहिरोमा जाँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ सैनिक र २ भरिया छन् ।

८ जना सम्मिलित टोली हिमशृंखलाको करिब १९ हजार फिटको उचाइमा गस्ती गर्ने क्रममा हिमपहिरोमा परेका हुन् । पहिरोलगत्तै उनीहरुलाई उद्दार गरिए पनि बचाउन नसकिएको भारतीय सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अत्यधिक चिसोले कठ्यांग्रिएका कारण उनीहरुको मृत्यु भएको भारतीय सेनाको भनाइ छ । सियाचिन क्षेत्रको सार्वभौमिकतालाई पाकिस्तान र भारतबीच विवाद छ । सो क्षेत्रमा दुवै देशका सेनाले गस्ती गर्दै आएका छन् । उक्त क्षेत्र संसारकै उच्च भागमा रहेको युद्ध क्षेत्रका रूपमा परिचित छ ।

सन् १९८४ मा भारतले यो क्षेत्रमा नियन्त्रण जमाएको थियो । त्यसबेलादेखि लडाइँभन्दा  पनि हिमपहिरोमा परेर सैनिकको मृत्यु हुने गरेको छ । यसअघि सन् २०१६ मा पनि १० सैनिकले ज्यान गुमाएका थिए । –एजेन्सी

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलवार ०९:३८