१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

बालविवाह हुँदै गर्दा विवाह मण्डपबाटै दुलाहा दुलही पक्राउ


१५ वैशाख, रुकुम । रुकुमको सानीभेरी गाउँपालिकामा बालविवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिकाको वडा नं ७ मा विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो ।

बालविवाह गर्न लागेको सूचनाका आधारमा प्रहरीले दुलाहा दुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो ।

सानीभेरी गाउँपालिका वडा नं १० अर्माका १८ वर्षीय बालक र सानीभेरी वडा नं ७ जैधुनेकी १७ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा प्रहरीले पक्राउ गरेको सिम्ली प्रहरी चौकीका प्रमुख गगनसिंह ठकुरीले जानकारी दिए । उनका अनुसार केटीका अभिभावक शिक्षक छन् । शिक्षित परिवारबाटै यसरी बालविवाह हुनु दुखद भएको उनको भनाइ छ । माइती घरमा विवाह अन्तिम चरणमा पुग्दै गर्दा प्रहरी त्यहाँ पुगेको थियो ।

अशिक्षितभन्दा शिक्षित परिवारबाटै बालविवाह हुने गरेको प्रहरीको भनाइ छ । सरकारले केटाकेटी दुवै २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भनेको छ । बालविवाह भएका प्रकृति हेरी छ महिना वा एक वर्षसम्म कैद हुन सक्ने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार १६:०९