१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

सुँगुरको रगतले नदी पूरै रातो

२७ कात्तिक, सियोल । उत्तर र दक्षिण कोरियाको बीचमा भएको एक नदी सुँगुरको रगतले पुरै रातो भएको छ । देशमा अफ्रिकन स्वाइन ज्वरो फैलिने खतरा उत्पन्न भएपछि दक्षिण कोरियाको प्रशासनले यसलाई फैलन नदिन ४७ हजार सुँगुर मार्ने आदेश दिएको थियो ।

तर, भारी वर्षा भएका कारण मारिएका सुँगुर डम्पिङ गरिएको क्षेत्रबाट रगत बगेर नजिकको इमजिन नदीमा मिसिएको थियो । अफ्रिकन स्वाइन ज्वरो निकै संक्रामक र उपचार हुनै नसक्ने रोगका रुपमा लिइन्छ ।

यसबाट संक्रमित सुँगुर बच्ने सम्भावना नहुने जनाइएको छ । यद्यपि मानिसलाई यसको खतरा नभएको बताइएको छ । स्थानीय अधिकारीहरुले बगेको रगतले अन्य जनावरलाई समेत खतरा हुन सक्ने कुरा अस्वीकार गरेका छन् ।

गत साताको अन्त्यमा सुँगुर मारिएको थियो । मारिएका सुँगुरलाई तत्कालै नपुर्दा यस्तो समस्या उत्पन्न भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । दक्षिण कोरियामा अफ्रिकी सुँगुरको मामिला पहिलोपटक १७ सेप्टेम्बरको दिन देखिएको थियो । अहिलेसम्म १३ संक्रमण देखिएका थिए । दक्षिण कोरियामा ६ हजार ७ सय सुँगुर फार्म छन् । सुँगुरलाई हुने यो रोगबाट चीन, भियतनाम र फिलिपिन्स पनि प्रभावित भएका छन् । चीनमा मात्रै यो कारणले गर्दा १२ लाख सुँगुर मारिएका छन् । –बीबीसी

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार १०:००