१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

गृहमन्त्रीले दिए अस्थिरता निम्त्याउन खोज्नेविरुद्ध निर्मम हुने निर्देशन


१४ वैशाख, बुटवल । गृहमन्त्री रामबहादुर थापाले केही तत्व देशमा अस्थिरता निम्त्याउन उद्यत रहेकाले त्यस्ता व्यक्तिलाई निस्तेज पार्ने गरी काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री थापाले आज प्रदेश ५ अन्तर्गत प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै देशमा अस्थिरता निम्त्याउन खोज्नेविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिँदै समस्याको व्याख्या नगरी त्यसविरुद्ध एक्सन लिनुपर्ने बताए ।

विभिन्न जातजाति र बादका नाममा अस्थिरता निम्त्याउने प्रयत्न भइरहेकाले यस्ता क्रियाकलापको सूक्ष्म रुपले अध्ययन गरेर कारवाही बढाउन आवश्यक रहेको थापाले बताए ।

उनले प्रदेश ५ का सीमा नाकाबाट विगतदेखि नै तस्करी हुने गरेको आफूलाई सूचना आएको छ भन्दै अब त्यस्ता गतिविधि कदापि स्वीकार्य हुन नसक्ने बताए ।

गोष्ठीमा प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशको शान्ति सुरक्षामा गुणात्मक परिवर्तन ल्याउन गोष्ठीले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार २०:०९