४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विद्यार्थी संगठनको चरणबद्ध तालाबन्दीका कारण कानून संकायको स्नातक प्रथम वर्षको भर्ना प्रभावित

१४ वैशाख, काठमाडाैँ ।  कानून संकायको डिन कार्यालयमा विद्यार्थी संगठनले चरणबद्ध रुपमा एकपछि अर्कोले तालाबन्दी गर्दा कानून संकायको स्नातक प्रथम वर्षको भर्ना प्रभावित भएको छ ।

डिन कार्यालयले कानूनमा स्नातक तह प्रथम वर्षमा भर्ना गर्नका लागि विद्यार्थीको कोटा प्रणाली लागू गरेपछि एकपछि अर्को विद्यार्थी संगठनले तालाबन्दी गरेपछि भर्ना प्रभावित भएको हो । पहिलो अनेरास्ववियुले कोटा संख्या बढाउनुपर्ने माग गर्दै ताला लगाएपछि ४० दिनपछि सहमतिपश्चात् ताला खोलिएको थियो त्यो ताला खोलेको १० दिन नबित्दै फेरि नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी)ले वैशाख १० गतेदेखि पुनः ताला लगाएका छन् ।

अनेरास्ववियुसँग ६०० कोटा विद्यार्थी भर्ना गर्ने सहमति भएको थियो । संघ र क्रान्तिकारीले ५०० जना भर्ना गर्नुपर्ने वा पहिलेकै अवस्थामा विद्यार्थीको कोटा संख्या नतोकिकन भर्ना लिनुपर्ने भन्दै ताला लगाएका हुन् ।

नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख दीनानाथ पराजुलीले विद्यार्थी संगठनले चरणबद्ध रुपमा ताला लगाएको हुनाले विद्यार्थी भर्ना प्रक्रिया रोकिएको बताउनुभयो ।

“स्नातक प्रथम वर्षको पढाइ तीन महिना पछि परेको छ । स्नातकोत्तर तह प्रथम वर्षको प्रवेश परीक्षा लिएर पनि परीक्षाफल प्रकाशित गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “तालाबन्दी लगाउँदा कानून संकायको शैक्षिक क्यालेण्डर नै खलबलिएको छ ।” रासस

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार १४:३०