१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

इन्जिनियर नपुग्दा गाउँपालिकाका भूकम्पपीडित अन्योलमा


१३ वैशाख, खोटाङ । खोटाङको दुई गाउँपालिकामा अझै इन्जिनियर नपुग्दा पुन ः निर्माणकार्य हुनसकेको छैन भने पुनःनिर्माणका लागि नक्सा र प्राविधिक सल्लाह नपाउँदा भूकम्पपीडित अन्योलमा परेका छन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिका र दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा अहिलेसम्म पनि इन्जिनियर आएका छैनन् । ति दुई गाउँपालिकामा अहिलेसम्म इन्जिनियर नआएपछि जिल्लाका केही पीडितले भने बिना नक्सा र प्राविधिक सल्लाहमा घर पुनःनिर्माण गरिरहेका छन् ।

गाउँपालिकामा इन्जिनियर नआएपछि पटक–पटक खबर गर्दासमेत प्राधिकरणले चासो नदिएको पालिका प्रमुखको गुनासो छ । गाउँपालिकामा खटिएका इन्जिनियरहरु भौगोलिक विकटतालगायतका बहाना बनाएर बसेको स्रोतको दाबी छ ।

जिल्लाका आठ हजार ४४३ घर भूकम्पपीडितमध्ये अहिलेसम्म आठ हजार १५१ घर पीडित परिवारले मात्र पहिलो किस्ताबापतको रकम पाएका छन् । पुनःनिर्माण प्राधिकरणबाट करीब वर्ष दिनअघि पहिलो किस्ताबापतको रकम आए पनि अहिलेसम्म २९२ घर पीडित परिवारले रकम पाएका छैनन् ।

कागजपत्र नमिलेको तथा सम्झौता गर्न बाँकी परिवारलाई पहिलो किस्ताबापतको रकम दिन बाँकी रहेको प्राधिकरणका सम्पर्क व्यक्ति एवं निमित्त समन्वय अधिकारी रविकिरण आचार्यले बताए । पहिलो किस्ताका लागि प्रतिपरिवार रु ५० हजारका दरले रु ४२ करोड २१ लाख ५० हजार रकम आएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार १६:११