१७ असार २०८१, सोमबार | Mon Jul 1 2024

संखुवासभामा बैंकिङ कारोबार गर्न पाँच दिन पैदल हिड्नुपर्ने


१३ वैशाख, संखुवासभा । भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बैंकिङ कारोबार गर्न पाँच दिन हिँडेर सदरमुकाम खाँदबारी झरेका छन् ।

गाउँपालिकाले छनोट गरेको योजनाको सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिसहित तेम्बा खाँदबारी आएका हुन् । नजिकमा बैंक नहुँदा भोटखोलावासी पाँच दिन पैदल हिँडेर सदरमुकाम झर्छन् । बैंक अभाबकारण यहाँका अधिकांश गाउँ र नगरपालिकामा आर्थिक कारोबार गर्न मुस्किल भएको र आर्थिक कारोबारका लागि सदरमुकाम खाँदबारीमै पुग्नु पर्दा कर्मचारीले असुरक्षित महसुस गर्ने गरेको उनले बताए ।

बैंक पठाइदिनु प¥यो भनेर पटकपटक माग गरेका छौँ, अध्यक्ष तेम्बाले भने सुनुवाइ भएको छैन, कारोबार गर्न नजिक बैंक नभएकाले काम कारबाहीमा बाधा उत्पन्न भएको छ । नगद रकम बोक्दा असुरक्षित हुने खतरा भएको बताए । भोटखोलाका पाँच गाउँमा सामान्य काम चलाउन पनि उधारो र ऐचोपैंचो गर्नुपर्ने अवस्था छ ।

सदरमुकामसँगै जोडिएको चिचिला गाउँपालिकामा पनि बैंक नहुँदा सदरमुकाम आउनुको विकल्प छैन । गाउँपालिका अध्यक्ष पासाङनुर्वु शेर्पा बैंक नजिक नभएकाले सदरमुकामसम्म आएर कारोबार गर्न सुरक्षाका साथै चुनौती पनि रहेको बताउँछन् । चिचिलाबाट पनि खाँदबारीसम्म आएर कारोबार गर्न तीन घण्टा लाग्छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार सबै स्थानीय तहमा बैंक पठाउने निर्णयअनुसार सबै तहमा विभिन्न बैंकलाई शाखा विस्तार गर्न सहुलियत दिएर राष्ट्र बैंकले परिपत्र गरिसकेको छ तर सञ्चार, भौगोलिक, सुरक्षालगायतका चुनौती रहेको दाबी गर्दै अझैसम्म ती बैंकले गाउँ तहमा शाखा विस्तार गरेका छैनन् ।

बैंकलाई गाउँ जान सुरक्षाको अवस्थाले कुनै समस्या नहुने उनले बताएका छन् । तोकिएका स्थानीय तहमा बैंक गएर सेवा दिनै पर्छ । गाउँ तहसम्म पुग्न नसकेका अधिकांश बैंकले इन्टरनेट, सुरक्षा, यातायातको पहुँच नभएको जनाएका छन् ।

राष्ट्र बैंकले ग्लोबल आइएमईलाई भोटखोला गाउँपालिका, प्राइमलाई सभापोखरी गाउँपालिका, एभरेष्टलाई सिलिचुङ गाउँपालिका, मादी नगरपालिकामा हिमालय, धर्मदेवी नगरपालिकामा एसबीआई बैंकलाई शाखा विस्तार गर्न अनुमति दिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७५, बिहीबार १५:३७