नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको छ: उपप्रधानमन्त्री पाेखरेल
२७ असोज, काठमाडाैँ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताएका छन् । सोमबार ‘सिल्क रोड युथ फोरम’ ले काठमाडाैँमा आयोजना गरेको ‘चाइना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले चीन र नेपालमा कम्युनिष्ट पार्टीको सरकार रहेको सन्दर्भमा सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताएका हुन् ।
उपप्रधानमन्त्री पाेखरेल नेपालका कम्युनिष्टहरुले जनतासँग गरेको प्रतिबद्धताअनुसार अगाडि बढ्ने अठोट गरेको उल्लेख गर्दै चिनियाँ कम्युनिष्टहरुकै पथमा नभइ नेपालको विशेषताअनुसार फरक ढंगले अघि पनि बताए जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने विषय भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको साझा विषय भएको समेत उल्लेख गरे ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको क्रममा नेपाललाई भू-परिवेष्ठितबाट भू-जडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दै उहाँले अब भू-जडित देशको रुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्ने बताउनुभयो ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चीन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उहाँले आगामी दिनमा मित्रतालाई थप उचाइमा पुर्याउने प्रस्ट पारे । राष्ट्रपति सीको भ्रमणअघि कतिपयले चीन सरकारसँग के के माग्छौ ? भनेर व्यङ्ग्य गरेको स्मरण गर्दे उहाँले नेपाल सरकार छिमेकी देशसँगकाे मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पारे ।
उनले भने, ‘कतिपय मानिसहरुले राष्ट्रपतिको भ्रमणअघि पहिला तिमी नेपालीहरुको हातमा के के सपिङ लिस्ट छ ? भनि जिज्ञाशा राखे । हामीले त्यसबेला भनेका थियौँ- हामी सपिङ लिस्ट लिएर बसेका छैनौँ । हाम्रो मित्रताले उचाइ प्राप्त गर्नुपर्छ भन्ने हाम्रो विचार हो भनेर सुनाएका थियौँ । त्यस हिसाबले भ्रमणले दुई देशबीचको मित्रताले उचाइ प्राप्त गरेको छ । यो मित्रतालाई हामी पर-पर पुर्याउन चाहन्छौँ ।’
उपप्रधानमन्त्री पोखरेलले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा भएका प्रतिबद्धतालाई दृढतापूर्वक कार्यान्वयन गरेर व्यवहारिक रुपमा नै दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार १५:४६