२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

प्रधानमन्त्री अोली अाफैँले इट्टा बोकेर धरहरा बनाउने !

१२ बैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट भत्किएका संरचनाको निर्माणमा तिव्रता दिनु पर्ने बताउनुभएको छ । २०७२ सालको भूकम्प पिडितको स्मृतिमा काठमाण्डौ महानगरपाकिलाले आयोजना गरेको ‘म बनाउछु मेरो धरहरा’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकार सुरक्षित नेपाल,लोकतान्त्रिक नेपाल,समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा लागेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भूकम्पले ध्वस्त भएका संरचना निर्माणको अवधी ५ बर्ष भनिए पनि त्यस अनुसार प्रगति हुन नसकेको बताउनुभयो । “हामीले ५ बर्षमा पुननिर्माण सक्ने योजना गरेका थियौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर अनेक बहाना र केही कानुनी जटिलताले त्यो लक्ष्य प्राप्त गर्न सकिएन । तर अब यी सबै कुरालाई उछिनेर तिव्रताका साथ पुन निर्माणको काम गर्नु पर्दछ । ”

अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला २०७२ फागुन ४ गते म बनाउछु मेरो धरहरा कार्यक्रम घोषणा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यो अभियानलाई जसरी पनि पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । “भूकम्पसंगै ढलेको धरहरालाई अब नेपाली आंफैंले स्वाभिमानका साथ उठाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि सबै नेपालीले थोरै भए पनि योगदान गरौं ।” धरहरा पुननिर्माणका लागि सरकार र आफू व्यक्तिगत रुपमा पनि योगदान गर्न तयार रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “धरहरा निर्माणका लागि म कोदालो खन्न अथवा डोकामा इटा बोक्न पनि तयार छु ” प्रधानमन्त्रीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विपक्षीहरुले अधिनयाकवाद आयो,सरकार बलियो भनेर जनतालाई भ्रम छर्न लागेको बताउनुभएको छ । “सरकार बलियो हुन्छ,स्थीरता हुन्छ । देशमा विकास हुन्छ” प्रधानमन्त्री ओलीले भनुभयो “त्यसकारण फासिवाद होइन जनवाद आउछ । फासिवाद होइन समृद्धवाद आउछ । अधिनायकवाद होइन सुखीवाद आउछ ।” प्रधानमन्त्री ओलीले पुननिर्माणको कामका लागि दाताहरुले प्रतिवद्धता गरेको रकम जम्मा गर्न सम्झना गराउनु पर्ने बताउनुभएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७५, बुधबार १३:२७