११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

काबुलमा भएको आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो

१० बैशाख, काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा आइतबार भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५२ पुगेको र उक्त घटनामा ११२ जना घाइते भएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा २१ जना महिला, पाँच जना बालबालिका रहेका प्रहरीले बताएको छ । नजिकिँदै गरेको निर्वाचनमा सहभागिता जनाउन मतादाता परिचयपत्र लिनका लागि नागरिकहरू एक सरकारी कार्यालय अगाडि रहेका समय स्थानीय समयानुसार बिहान १०ः१० मा घटना भएको प्रहरीले जनाएको छ ।

आक्रमणकारी अन्य नागरिक झैँ उक्त कार्यालयमा मतदाता परिचयपत्र लिन लाइनमा बसेका नागरिकलाई लक्षित गरी आक्रमण गरेको थियो । घटनास्थललाई प्रहरीले तत्कालै नियन्त्रणमा लिई घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि पठाइएको छ । उपचाररत कतिपय घाइतेलाई गहिरो चोट लागेकोले मृतक सङ्ख्या थप केही बढ्नसक्ने अस्पताल स्रोतले जनाएको छ ।

अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोगले गत अप्रिल एक तारिखका दिन आउदो अक्टोबर २० मा निर्वाचन गर्ने घोषणा गरेको थियो ।अफगाननितस्तानमा तालिबान आतङ्ककारी समूहले जारी राखेको द्वन्द्वको कारण यसअघि पनि तय गरिएको मिति सरेर अक्टोबर २० मा तय गरिएको थियो ।

प्रकाशित मिति : April 23, 2018 at 7:18 am