१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

न्यायाधीशकै हस्ताक्षर नक्कली

५ बैखाख, काठमाडाैँ । कीर्ते धन्दाका अनेक घटना सार्वजनिक भइरहेका बेला अदालतको फैसला नै नक्कली बनाउन थालिएको खुलासा अन्नपूर्ण पोस्ट दैनिकले गरेको छ । समाचार अनुसार हुँदै नभएका न्यायाधीशले हस्ताक्षर गरेका नक्कली फैसला बढ्न थालेपछि विदेशी मुलुकका अदालतले नेपालको अदालतलाई सोध्न थालेका छन् ।

अन्नपूर्ण पाेस्ट दैनिकले लेखेको छ– डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी रहेको भन्दै काठमाडौंस्थित बेलायती दूतावासमा फैसला नै पेस गरिन् ।

फैसला र त्यसलगत्तैको अर्को आदेशमा शंका लागेपछि दूतावासले गत १४ मार्च २०१८ मा काठमाडौं जिल्ला अदालतसँग यसबारे जानकारी माग गर्यो । तर, दूतावासबाट प्राप्त फैसला र आदेश दुवै हेर्दा जिल्ला अदालतका कर्मचारी आश्चर्यचकित भए । यतिसम्म कि आदेशमा उल्लेख भएका न्यायाधीशको नाम कहीँ–कतै भेटिएन । आदेशको कानुनी ढाँचा र व्यहोरा पनि मिलेको देखिएन । जिल्ला अदालतका न्यायाधीश दीनानाथ पाठकको एकल इजलासले बच्चा विदेश लैजान लेखेको भनिएको मञ्जुरी आदेश पूरै फर्जी रहेको पत्ता लाग्यो ।

दूतावासमा जोशीको सम्बन्धविच्छेदलाई आधिकारिकता दिने गरी ०७० साल कात्तिक १४ गते आदेश भएको व्यहोरासहित निवेदन पेस भएको रहेछ । कल्पनाका पति भनिएका रामचन्द्र जोशीसँग ०६९ साल वैशाख १९ गते सम्बन्धविच्छेद भएकाले उनीहरूबाट जन्मेका नाबालक छोरा प्रदेशराज र सेवकराजलाई बेलायत लैजान कुनै बाधा नरहेको सो आदेशमा उल्लेख छ ।

सोही प्रकरणमा फैसला गर्ने भनिएका अर्का न्यायाधीश दीपकराज पन्त पनि त्यो समयमा अदालतमा नरहेको रेकर्डबाट देखिन्छ । पन्तको नक्कली नाममा ०६९ साल वैशाख १९ गते फैसला लेखिएको छ । पन्तकै फैसलाका आधारमा नक्कली न्यायाधीश पाठकले मञ्जुरीका लागि आदेश दिएको फर्जी कागजातबाट देखिन्छ ।

त्यसैगरी, स्याङ्जा मनकामना–५ की रिनु गुरुङ र बुटवल नगरपालिका–५ का डम्बरकुमार गुरुङबीच सम्बन्धविच्छेदको नक्कली फैसला हङकङ पुगेको छ । हङकङको अध्यागमन विभागले त्यहाँस्थित नेपाली कन्सुलेट जनरलसँग यसबारे जानकारी मागेपछि १ जुन २०१७ मा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको छ । हङकङ अध्यागमनको पत्रअनुसार पुस ३० गते परराष्ट्रको कन्सुलर सेवा विभागले काठमाडौं जिल्ला अदालतलाई यसको आधिकारिकताबारे सोध्यो । न्यायाधीश शिवनारायण यादवको इजलासले गरेको भनिएको फैसलाको राय किताब हेर्दा अदालतका कर्मचारी नै छक्क परेका छन् ।

अदालतले कन्सुलर सेवा विभागलाई पुस २ गते लेखेको पत्रमा भनिएको छ, ‘तत् सम्बन्धमा वादी रिनु गुरुङ प्रतिवादी डम्बरकुमार गुरुङबीच २०६४, ०८।०६ मा मिलापत्र भएको भनिएको सम्बन्धविच्छेद मुद्दा यस अदालतको मुद्दा दर्ता दायरी तथा माननीय न्यायाधीश श्री शिवनारायण यादवको राय किताबमा हेर्दा दर्ता तथा मिलापत्र भएको नदेखिएको व्यहोरा जानकारीका लागि अनुरोध गरिन्छ ।’

अन्नपूर्णका अनुसार, फैसला भएको भनिएको मितिमा न्यायाधीश यादवलाई तोकिएको पेसी सूचीमा वादीप्रतिवादीको नामसमेत छैन ।

काठमाडौं जिल्ला अदालत मुद्दा दर्ता शाखाका शाखा अधिकृत टीकासिंह खत्रीका अनुसार अस्ट्रेलियाबाट ‘भेरिफाई’ गर्न एक महिनाअघि पठाइएको एक फैसला पनि नक्कली रहेको पुष्टि भएको थियो । खत्रीले अन्नपूर्णसँग भनेका छन्, ‘यहाँ जेलमा थुनामा रहेका व्यक्तिलाई छुटाउन अदालतको तहसिलको पत्र भनेर नक्कली पत्रसम्म कारागारमा पेस भएछ ।’

काठमाडौं अदालतका स्रेस्तेदार कृष्ण नेपालले नक्कली फैसला र आदेश गर्ने गिरोह नियन्त्रणमा लिन ‘इन्टेलिजेन्स ब्युरो’ र ‘अपराध अनुसन्धान ब्युरो’ को सक्रियता आवश्यक रहेको बताए । यस्तो गिरोहलाई समातेर तर्साउनुपर्ने भनाइ उनको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७५, बुधबार ०६:५५