१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

त्रिशुली थ्री ‘ए’को दोस्रो युनिटबाट विद्युत् उत्पादन सुरु, ६० मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडियाे

१८ साउन, नुवाकोट । माथिल्लो त्रिशुली थ्री ‘ए’काे दोस्रो युनिटबाट ६० मेगावाट विद्युत् उत्पादन सुरु भएको छ । याे परियोजना नेपालमा ११ वर्षपछिकै ठूलो जलविद्युत परियोजना हाे । त्रिशुली थ्री ‘ए’ आयोजनाको पहिलो युनिटबाट गएको जेठ २ गते नै ३० मेगावाट विद्युत् उत्पादन भैसकेको छ । दोस्रो युनिट पनि ७२ घण्टा परीक्षण सम्पन्न भएको छ । अहिले माथिल्लो त्रिशुली थ्री ‘ए’ बाट ६० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाबाट दैनिक १४ लाख ४० हजार युनिट विद्युत उत्पादन भैरहेको छ ।

आयोजनाका दुवै युनिटले २ करोड २० लाख युनिट बिजुली उत्पादन गरेका छन् । बजार भाउ अनुसार २२ करोड रुपैयाँको बिजुली उत्पादन भैसकेको छ । यसअघि विसं २०६५ सालमा मध्य मर्स्याङ्दीबाट ७० मेगावाट विद्युत उत्पादन भएको थियो। आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाण्डौको मातातीर्थमा रहेको सबस्टेसनमा जोडिएको छ । अब दोस्रो युनिटको उपकरण तथा सुरुङ, बाँधलगायतका संरचनाहरुको पुनः परीक्षण गरिने छ ।

आयोजनाले नै काठमाडाैँकाे मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरेको छ । यसबाट त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्यत् आयोजनाको ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पूर्वाधारसमेत तयार भएको छ ।

साे आयोजनाकाे कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको  नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैँकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इन्जिनियरिङ, खरिद र निर्माण (ईपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी) सँग १४ जेठ २०६७ (२८ मे २०१०) मा ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ठेक्का चाइना वाटर एण्ड इनर्जी (सीडब्ल्यूई) ले पाएको थियो ।

रसुवामा बाँध र नुवाकोटमा विद्युत गृह रहेको यस आयोजना आर्थिक वर्ष ०७५/०७६ भित्र दुवै युनिटबाट विद्युत उत्पादन गरिने लक्ष्य राखिएको थियो ।आयोजना प्रमुख जोशिका अनुसार आयोजना पुर्ण रुपमा सञ्चालनमा आएपछि देशभित्र खपत हुने उर्जामा करिब आठ प्रतिशतको योगदान रहने छ । १३ अर्ब ९९ करोड १२ लाख ५० हजार रुपैयामा आयोजना निर्माण सम्पन्न भएको हो । २०६८ वैशाखबाट निर्माण सुरु भएको यो आयोजना भुकम्पका कारण करिब २२ महिना निर्माण कार्यमा प्रभावित भएको थियो ।

१७ जेठ २०७१ (३१ मे २०१४) भित्रमा निर्माण सक्नेगरी सीजीजीसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो ।

 

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार १७:३९