२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

१३ साउन, खलङ्गा । जुम्लाको तिला नदीमा करेन्ट र विषादीको प्रयोग गरी माछा मार्ने क्रम बढेपछि जिल्लाका विभिन्न खोलामा माछाको सङ्ख्या घटदै गएको छ । जिल्लाको जोवा र तिला नदीमा करेन्ट र विषादीको प्रयोग बढेपछि असला जातका माछा लोप हुने अवस्थामा पुगेका हुन् । करेन्ट र विषका कारण माछाका भुरासमेत नष्ट हुन थालेपछि स्थानीय जातका माछा लोप हुन थालेका हुन् ।

स्थानीयवासीका अनुसार विगतमा साना खोलामा पनि जताततै देख्न सकिने विभिन्न जातका माछा पछिल्लो समय देखिन छाडेका छन् । जुम्लाका रामप्रकाश बुढाले केही वर्षअघि सम्म स्थानीय खोलामा माछा मारेरै गुजारा चलाउने गर्नुभएको थियो । पहिले एक घण्टामा चार÷चार किलो माछा सजिलै मार्न सकिन्थ्यो तर अहिले दिनभर खोला चहार्दा पनि एक किलो पाउन मुस्किल हुने गरेको उहाँको भनाइ थियो ।

करेन्ट र विषको असरले अधिकांश खोलामा माछा सकिएका छन् भन्दै बुढाले विषादी र करेन्टले अन्य जलचर प्राणीसमेत लोप हुने अवस्थामा पुगेको गुनासो गर्नुभयो । जाल हालेर माछा मार्ने गर्दै आएकामा माछा पाइन छाडेकाले डेढ वर्षयता जाल थाप्न नगएको जानकारी दिँदै उहाँले करेन्टभन्दा विष प्रयोग गर्दा बढी माछाको क्षति हुने गरेको छ भन्नुभयो । विषको प्रयोग गर्दा नदीमा चार दिनसम्म माछा र भुरा पउन मुस्किल हुने गरेको स्थानीयवासी विर्षलाल शाहीले बताउनुभयो ।

पछिल्लो समय जथाभाबी नदीको दोहन हुन थालेकाले तिला नदीमा पाइने असला जातका माछा पनि सङ्कटमा पर्न थालेका छन् । तीन महिनाअघि उक्त नदीको विभिन्न स्थानमा ठूलो सङ्ख्यामा मरेका माछा छालमा तैरिएको अवस्थामा भेटिएका थिए । असला माछा विश्वमै लोपन्मुख माछा मानिन्छ । यो माछा निकै स्वादिलो हुने भएकाले सबैको रोजाइमा पर्ने गरेको स्थानीयवासी माया पछाईले बताउनुभयो ।

उहाँका अनुसार नदीमा करेन्ट लगाउने, विष हाल्ने, जथाभावी फोहर फाल्नेलगायत मानवीय गतिविधि बढेपछि माछा सङ्कटमा पर्न थालेका हुन् । पहिले नदीभरि माछा नै माछा देखिन्थे, अहिले दिनभर जाल हाल्दा पनि एक किलो माछा भेटाउन मुस्किल हुने गरेको छ । माछा भेटिन छाडेपछि स्थानीय बजारमा असलाको मूल्य बढ्दै गएको छ । एक वर्षअघि रु ३०० मा किनबेच हुने उक्त माछाको मूल्य अहिले रु ६०० पुगेको पछाईको भनाइ थियो ।

नदीमा पानीको बहाव घट्नु, करेन्ट लगाइनु, पानी दूषित हुनुलगायत कारण दिन प्रतिदिन माछाको सङ्ख्या घटदै गएको जिल्लास्थित भेटेरिनरी अस्पतालका चिकित्सक गोविन्द महतले बताउनुभयो । जिल्लाबाहिर समेत ठूलो परिमाणमा पठाइने उक्त माछा अहिले पाउनै मुस्किल भएको जानकारी दिँदै उहाँले नदीमा जथाभावी डोजर प्रयोग गरिँदा पनि स्थानीय माछा लोप हुन थालेको हो भन्नुभयो ।

चिकित्सक महतले केही महिना अघि नदी छेउछाउमा भेटिएका माछालाई अनुसन्धानका लागि काठमाडौँको प्रयोगशालामा पठाइएकामा अझैसम्म त्यसको प्रतिवेदन नआएको जानकारी दिनुभयो । माछा मार्नका लागि जाल हाल्ने, निया हाल्ने, झरौला हाल्ने, बल्छी खेल्ने र ढँडिया राख्ने चलन पछिल्लो समय हराउँदै गएको छ । केही वर्षयता नदीमा करेन्ट लगाउने र विषादी प्रयोग गर्ने क्रम बढ्दा पनि स्थानीय प्रशासन भने मौन छ । असला माछाको संरक्षणका लागि सरोकारवाला निकायको समयमै ध्यान जानुपर्ने स्थानीयवासी मनोज बुढाले बताउनुभयो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार १२:३९