झल्को आउछ छोरा (कविता)
–दुर्गा पौडेल (अल्छी)
धनुष झै यो शरीर नुग्न थल्दा।
बादल लागि आँखा धमिला हुँदा ।
फुटेका हातगोडा चहर्याउदा।
कोही झोला बोकेको सुकिलो मान्छे,
दैला मुनीको बाटो हिडेको देख्दा।
तिमि आउने दिन मनमा सम्झेर
मलाई तिम्रो झल्को आउछ छोरा ।।
बाबाले हर बिहान बिहान पकाउने
भैंसिको कुंढो उचाल्न सक्न छोडनु भयो ।
जुरुक्क उठदा ढाड दुख्छ भन्नुहुन्छ ।
मेरा यी घुंडा दुखेर उठ्न बस्न हुन्न ।
तिमी काठमाडौबाट आउँदा ल्याउंथेउ नि?
हो त्यो मलम हामी सम्झी रहन्छम।
अब फेरि कहिले ल्याइदेउला भनेर
मलाई तिम्रो झल्को आउँछ छोरा।
बहिनी आउँदा बनायेका अलिकति
हिउँदे सिरौंलाका खट्टे देख्दा।
दशैंको कुराउनी , मस्यौरा , सिन्की
अनि दैला मुनी पहेँला बेलौंती पाक्दा।
निउवा साँधेर आगनको डिलमा बसेको
सम्झेर टोलाउदा परेला चिसा हुन्छन् ।
अब कहिले आउला खाउला भनी
मलाई तिम्रो झल्को आउँछ छोरा ।
डांडाको खेत रोप्दा,गोड्दा अनि काट्दा
बारि रोप्न नसकी त्येसै बाँझो पल्टिँदा
जैमुनीघाट बाट ठुलीएकादसी नुहाएर फर्किदा
सबै जना आउँदा अनि सबै जना जाँदा
सबैले मलाई र अरु सबैलाई मैले बिर्सदा
सबै सबै याद हरुलाई भुल्न
मलाई तिम्रो झल्को आउँछ छोरा ।
हाल – टोरोन्टो क्यानडा ।
प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार ०८:२४