बचाउ सिमाना (कविता)
छन्द :- भुजङ्गप्रयात
सुत्र :- iss iss iss iss
डुबेको छ बारा अछामी छ भोको
खडेरी खपेको बिरामी छ डोको
मरेको छ मान्छे हरायो निशाना
ल जागौ बचाऔं जुटेरै सिमाना ।।१।।
मरेको छ सुस्ता सरेको छ काली
बसेको छ नेता बजाएर ताली
लुटेको धनैले किनेको ठिकाना
ल जागौ बचाऔं जुटेरै सिमाना ।।२।।
दरिद्री अघोरी सबै जात डस्ने
पजेरो चढेरै उता हात धस्ने
निकाले छ आत्मा भलो को बाहाना
ल जागौ बचाऔं जुटेरै सिमाना ।।३।।
पहेंलो र रातो जुनै जात उस्तै
हरे दैव गोही रुदाझैं दुरुस्तै
लडाएर जाती सताको खजाना
ल जागौ बचाऔं जुटेरै सिमाना ।।४।।
पहाडी मधेसी चमारे र कामी
फुटाएर हाँस्छ दलाली हरामी
छकायो र हामी गरायौं चिरामा
ल जागौ बचाऔं जुटेरै सिमाना ।।५।।
-शम्भु गजुरेल
नुवाकोट
प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार १७:५४