६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

पर्यटनको प्रचुर सम्भावना बोकेको नुवाकोटको किस्पाङ (फोटोफिचर)

२२ असार, काठमाडाैँ । पर्यटनको प्रचुर सम्भावना बोकेको नुवाकोट किस्पाङ गाउँपालिकाको बारेमा भिजिट नेपाल २०२० को पेजमा सेयर भएको यस सामाग्रीमा हामीले यहाँ प्रस्तुत गरेका छाैँ । नुवाकोट जिल्लाको साविक गाविसहरु साल्मे, भाल्चे, काहुले, फिकुरी र मनकामना मिली किस्पाङ गाउँपालिका बनेको हो । यस गाउँपालिकाको पूर्वमा रसुवा जिल्लाको उत्तरगया गाउँपालिका, पश्चिममा नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका, उत्तरमा धादिङ जिल्लाको रुविभ्याली गाउँपालिका र दक्षिणमा नुवाकोट जिल्लाकै विदुर नगरपालिका रहेको छ । यस गाउँपालिकाको जनसंख्या १४८६१ र क्षेत्रफल ८२.५७ वर्ग कि.मी रहेको छ । समुन्द्र सतहदेखी ६०० फिट उचाई देखी ५२५० फिट उचाई सम्म फैलिएको छ ।

यस गाउँपालिकामा राष्ट्रियस्तरकै चर्चित ६० मेगवाट क्षमताको त्रिशुली थ्री ए जलबिद्युत आयोजना, निर्माणाधीन अबस्थामा रहेको ३७ मेगावाट क्षमताको त्रिशुली थ्री बि जलविद्युत आयोजना रहेको छ । हालै निर्माण कार्य प्रारम्भ भै रहेको ५५ मेगावाट क्षमताको मध्यगंगा जलविद्युत आयोजनाको हेडगेट समेत यसै गाउँपालिका भित्र रहेको छ । राष्ट्रको गौरवको रुपमा रहेकाे त्रिदेशीय ब्यापरिक मार्गको रुपमा रहने गल्छी रसुवागढी मार्ग समेत यस गाउँपालिका हुदै गएको छ।

तामाङ जातिको बाहुल्यता रहेको यस क्षेत्रमा ब्राम्हण, क्षेत्री, घले, दलित समुदायको मिश्रित बस्ती रहेकोले विविध भाषा, संस्कृति, रहन सहन रहेको छ । प्राकृतिक साैन्दर्य र जैविक विविधताले भरिपुर्ण घना जंगल, अनकन्टार भिर पाखा देखी समथर खेतियोग्य भुभाग समेत रहेको यस गाउँपालिका भित्र मनोरम हिमश्रृखलहरुको दृष्यावलोकन गर्न सकिने फिकुरीको डाँडा, रमणीय पानसय खोला, भेडा फार्म लगायत अन्य प्रशस्त मनमोहक स्थानहरु यश गाउँ पालिका भित्र पर्दछन ।

यस गाउँपालिकामा भाल्चे गोङगा भञ्ज्याङ, रुपचेत सिङला, गणेश हिमाल हुदै गोरखाको अारुघाट र रसुवाको सोम्दाङ पर्यटकीय पथमार्ग समेत रहेको छ । सामाजिक ,सास्कृतिक एंव प्राकृतिक रुपमा धनी रहेको यस गाउँपालिकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्नको लागि पूर्वाधार विकासमा लगानी गर्नुपर्ने देखिन्छ । साथै कृषि तथा पशुपालन क्षेत्रलाई समेत व्यवसायिक रुपमा लैजान सके यहाँको अार्थिक विकास र जीवनस्तर उकास्न मद्दत पुग्ने देखिन्छ ।

 

प्रकाशित मिति : २२ असार २०७६, आईतवार ११:०४