लिबियाकाे आप्रवासी हिरासतमा बम बिस्फोट, १ नेपालीकाे मृत्यु, ६ नेपाली अझै हिरासतमा
१९ असार, एजेन्सी । लिबियाको राजधानी त्रिपोली नजिकै थुनुवा केन्द्रमा भएकाे बम बिस्फोटमा परी एक नेपालीको ज्यान गएको छ । मंगलबार राती भएको बिस्फोटमा परी २७ वर्षीय सन्तोष श्रेष्ठको ज्यान इजिप्टको कायराेमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
श्रेष्ठ युरोपेली मुलुक इटालीका लागि हिँडेको तर मानव तस्करको चङ्गुलमा परेर युद्धग्रस्त अफ्रिकी देश लिबियामा पुगेको बताइएको छ ।आक्रमणमा परी श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु जनाइएकाे छ । दुई दिनअघि मात्र त्रिपोलीमा रहेका श्रेष्ठलाई उद्धार गरी नेपाल फर्काउन यात्रासम्बन्धी कागजात पठाउन आइओएमले नेपाली दूतावासलाई पत्राचार गरेको थियो ।
थुनुवा केन्द्रलाई सरकारी पक्षबाट घेरा हालिएको जनरल हफ्तारको फौजले आरोप लगाएका छन् । लिबियाली स्वास्थ्य मन्त्रालयका एक अधिकारी डा. खालिद बिन आतियाले हमलापछि शवहरु छरिएको देखिएको बताए । उनले भने, ‘हमलापछि बिजुली गयो । हामीले राम्ररी हेर्न सकिरहेका थिएनौं तर एम्बुलेन्स आएपछि स्थिती भयावह देखियो, यत्रतत्र रगत देखिन्थ्यो । केही शवहरु टुक्रा–टुक्रा भएका थिए ।’
आप्रवासी हिरासत केन्द्रमै अन्य १४ नेपाली पनि थिए । तर, उनीहरुको भने ज्यान जोगिएको छ । दूतावासका अनुसार ८ जनालाई टर्की हुँदै नेपाल फर्काइसकिएको छ भने ६ जनालाई फर्काउने प्रयास भइरहेको छ । ६ जना अझै त्रिपोलीस्थित आईओएमको क्याम्पमा रहेका छन् । पछिल्लो २ महिनामा २६ नेपालीलाई उद्धार गरेको नेपाल फर्काइसकिएको छ ।
उनीहरुलाई चाँडोभन्दा चाँडो नेपाल फर्काउने प्रयास भइरहेको दूतावासले बताएको छ । त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ । ४० जनाभन्दा बढी आप्रवासीको ज्यान जाने गरी गरिएको हमला युद्ध अपराध हुनसक्ने राष्ट्रसंघका एक अधिकारीले बताएका छन् । घटनामा एक सय ३० जनाभन्दा बढी घाइते भएका छन् । ६ सयजना आप्रवासी बस्दै आएको तजौरा थुनुवा केन्द्र आक्रमणमा परेको हो ।
प्रकाशित मिति : १९ असार २०७६, बिहीबार १०:१२












