१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

आउन छोरा दिन दागबत्ती त्यत्ती भए पुग्छ (गजल)

–गणेश आचार्य

आउन छोरा दिन दागबत्ती त्यत्ती भए पुग्छ ।
अरु आश अब रहेन कत्ती त्यत्ती भए पुग्छ ।

अन्जानमै गल्ति गरेकी भए माफ गर्दिनु है
पढेकी छैन तिमीले जत्ती त्यत्ती भए पुग्छ ।

मैले नै ठुलो हुनु भनी आशीर्वाद दिएकी हुँ
गुनासो पनि छैन एकरत्ती त्यत्ती भए पुग्छ ।

नपोलोस् तिम्लाई मेरा आँसुले, खुसी रहनु
नजलोस् मुटु तिम्रो भत्भत्ती त्यत्ती भए पुग्छ ।

एक झल्को मात्र देख्न पाए मर्थेकी सजिलै
गएन छोरा सास नि हत्पत्ती त्यत्ती भए पुग्छ ।

जैमिनी न. पा. ५ बाग्लुडं
हाल इटाली ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार १०:१२