२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

नेकपा नुवाकोटका उदाहरणीय नेता जसले कार्यकर्ताका लागि एक्लै पैसा जम्मा गर्छन (भिडियोसहित)


–पवित्रा मुडभरी

२० जेठ, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताले नब धनाढ्यको उपाधि पाउँदै जानेक्रम तीब्र रूपमा अघि बढेको छ । स्थानीय स्तरमा ठेकदार उत्पादनदेखि केन्द्रीय स्तरमा विचाैलिया उत्पादनको काम पनि नभएको होइन । यही बीचमा लामो समयदेखि नुवाकोटको कम्युनिष्ट आन्दोलनमा सक्रिय गोपालमान श्रेष्ठ फरक शैलीमा भेटिएका छन ।

कम्युनिष्ट पार्टीले कार्यकर्ताको संरक्षणमा पनि उत्तिकै ध्यान दिनुपर्छ भन्ने मान्यता राख्ने उनी तत्कालीन नेकपा एमालेका नेता हुन । नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर ४ मा दुई पटकसम्म वडा अध्यक्षमा निर्वाचित भएका गोपालमान कार्यकर्ताको आँखामा बिझाउने खालको कहिल्यै भएनन् । उनी २०४९ साल र २०५४ सालको स्थानीय निर्वाचनमा विदुर नगरपालिकाको वडा नम्बर ४ मा पपुलर मतका साथ तत्कालीन एमालेको चुनाव चिन्ह लिएर विजयी भएका थिए ।

तत्कालीन एमालेको २०६८ सालमा भएको जिल्ला अधिवेशनले कार्यकर्ता संरक्षणका लागि एउटा कोष बनाउने प्रस्ताव पारित गर्यो सोही निर्यण पनि भयो । तर त्यसको कार्यान्वनका लागि तत्कालीन अध्यक्षदेखि पदाधिकारी कसैले एक रूपैयाँ पनि उक्त कोषमा पैसा जम्मा गरेनन् । नत्र गोपालमान जस्ता कार्यकर्ता संरक्षण कोषको खाता नम्बर माग्नेले सहज रूपमै पाए ।

यद्यपी लामो संघर्षपछि गोपालमानले खाता नम्बर पाए र आजका दिनसम्म पनि उक्त कोषका नाममा रकम जम्मा गर्दै आएका छन । उनको यो इमान्दार प्रयासबाट सिक्नुपर्नेमा नेकपाका नेताहरूले उनको प्रयत्ननलाइ सकारात्मक रूपमा व्यख्या गर्न समेत सकेका छैनन् । नुवाकोट जिल्लामा तत्कालीन एमाले किन कमजोर भएको थियो भनेर खोजी गर्नेका लागि सही सूचना दिन गोपालमान एउटा पात्र हुनसक्छन ।

नेकपामा गोपालमान जस्ता सयौँ नेता छन तर कार्यकर्तासंरक्षण कोषामा जम्मा गर्ने भन्दा बढी त्यस्ता कोषमा जम्मा भएको रकम झिकेर खाने चाहिँ बढी देखिएका छन । दुइ कम्युनिष्ट पार्टी एक भएर सशक्त कम्युनिष्ट शक्ति बनेर अघि बढिरहेको सन्दर्भमा गोपालमान जस्ता इमान्दार कार्यकर्ताको राम्रो सुझाव पार्टीले सुन्ने हो भने चुनावमा चन्दा उठाएर रक्सीको खोलो बगाउने आवश्यकताको समेत अन्त्य हुनेछ । गोपालमानले ८ वर्ष १ महिनादेखि एक्लै उक्त कोषका नाममा रकम जम्मा गर्दै आएका छन ।

गोपालमानकै शब्दमा सुन्नुहोस् कार्यकर्ता संरक्षण कोषका बारेमा

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार १२:३१