१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

तलब बढेसँगै आयकरको सिलिङ पनि बढ्यो , विवाहितले मासिक ३४,६१५ सम्म आयकर तिर्नु नपर्ने

जेठ १५, काठमाडौँ । सरकारले सरकारी कर्मचारीको तलबमा बृद्धि गरेसँगै आयकरको सिलिङमा पनि बढाएकाे छ । सरकारले अधिकृतभन्दा तलको कर्मचारीकाे तलबमा २० प्रतिशत र अधिकृतभन्दा माथिको कर्मचारीकाे तलबमा १८ प्रतिशतले वृद्धि गर्यो । त्यससँगै यसअघि एकल व्यक्तिको हकमा वार्षिक ३ लाख ५० हजार रुपैयाँको आम्दानीसम्म सामाजिक सुरक्षा करबाहेक अन्य कर नलिने गरेकामा अब यसको सिलिङ बढेर ४ लाख पुगेको छ ।

त्यसैगरी अब विवाहित जागिरेको हकमा वार्षिक ४ लाख ५० हजार रुपैयाँसम्मको आयमा सामाजिक सुरक्षा करमात्रै तिरे पुग्ने भएको छ । अघिल्लो आर्थिक वर्षसम्म विवाहित व्यक्तिले वार्षिक ४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका १०, २० र ३० प्रतिशत गरी अधिकतम ३६ प्रतिशतसम्म कर तिर्नुपर्ने थियो ।

सरकारले मासिक आम्दानीलाई १३ महिनाको तलब जोडेर वार्षिक आम्दानी निर्धारण गर्ने गरेको छ । यसलाई हेर्दा अब मासिक ३० हजार ७ सय ७० रुपैयाँसम्म कमाउने एकल व्यक्तिले आम्दानी कर तिर्नु पर्दैन । त्यसैगरी विवाहित व्यक्तिको हकमा अब मासिक ३४ हजार ६ सय १५ रुपैयाँसम्म कमाउने व्यक्तिले आम्दानीमा कर तिर्नु नपर्ने भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार १९:१७