१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधारसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

जेठ, काठमाडाैँ । नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भ्रमणको क्रममा गत जेठ ८ गते बुधबार अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्दे्रईस रेईकार्डसँग सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । मन्त्री पुनले जलविद्युतको क्षेत्रमा धेरै काम गरेको अष्ट्रियासँग जलविद्युत सम्बन्धी प्रविधि भित्र्याउने गरी समझदारी गरिएको मंगलबार काठमाडाैँमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

जलविद्युत क्षेत्रको प्रविधिसम्बन्धी ३१ वटाभन्दा बढि कम्पनी भएको त्यस देशसँग जलविद्युत पूर्वाधार विकासका अन्य विषयमा पनि छलफल गरिएको मन्त्री पुनको भनाइ थियो ।

मन्त्री पुनले अष्ट्रिया भ्रमणको क्रममा संयुक्त राष्ट्र संघीय उद्योग विकास संगठनका उपाध्यक्ष ली योङसँग पनि भेटवार्ता गरी जलविद्युत र नविकरणीय उर्जाको विकास, प्रवर्द्धन एवम् उर्जा दक्षताका विषयमा थप सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलवार १८:१६