जुनेलीले एकपछि अर्को लाजका पर्दाहरू खोल्दा… (उपन्यास अंश)
–प्रकाश तिवारी
तिहारको समय थियो । छोरी उषा मामाघरमा थिई । जुनेलीले आशालाई फोन गरी । ‘आज गाईतिहार । भोलि भाइतिहार तर टीको भने यो साल लाउन नमिल्ने भो । दाजु जुठोमा हुनुन्च । टीका नलाए पनि भोलि दाजुकोमा जान्चु होला । यतिखेर डेरामा एक्लै छु । छोरी अस्तिदेखि उतै छे । किनकिन आज बिहानैदेखि मन खिन्न छ । कारण थाहा छैन । बिहानको खाना मेरोमा खाने गरी आउँचेस् कि भनेर फोन गरेकी ।’
‘मेरो पनि यो साल भाइटीका हुँदैन होला । भाइ क्यानडा गएको तँलाई थाहै छ । आफ्नो नभसी भाइ खोज्दै कता जानू । म आफै तँलाई फोन लाउँदै थिएँ । त्यही बेला तेरो फोन आयो । हुन्च म आउँचु ।’ आशाले भनी ।
नौ बज्दानबज्दै आशा आइपुगी । दुईबीच कुराकानी सुरु भयो । ‘खाना खाएर ठमेल जाउँ । अधुरो काम पूरा गरौं । टेन्सन पनि हट्च । के छ त विचार ?’ आशाले सोधी ।
‘कुन अधुरो कामको कुरा गर्दैछेस् तँ ?’
‘राकेश कस्तो लाग्यो भन् न ?’
‘ह्याण्डसम छ । हँसिलो छ । उसको हाँसोमा जादु छ ।’
‘अनि किन त्यस दिन बिच्केर भागिस् त ? अब मन फिरेको हो ?’
‘त्यस दिन म हड्बडाएर भागेँ ? मान्छे भलादमी रैछ । त्यस दिन उसले चाहेको भए जे पनि गर्न सक्त्यो तर मैले नाइँ भनेपछि चटक्कै छोडिदियो । कति समझदार मान्छे ! मलाई उसको व्यवहारले निकै प्रभावित गरेको छ ।’
‘उसो भए के बिग्रेको छ र । आजै जाउँ । म फोनमा कुरा मिलाउँचु !’ आशाले भनी ।
‘जाने र ! लाज लागिरहेछ मलाई त !’
‘यसमा लाजको के कुरा छ । कि उसलाई यहीँ बोलाइदिउँ ?’
‘भो ह्याँ त । वरपरकाले शंका गर्चन् !’
आशाले राकेशलाई फोन गरी । ‘जुनेली तिमीसित माफी माग्न खोज्दैछे । एक बजेतिर लिएर आउँछु । त्यहीँ गेष्टहाउसमा आइराख ।’
‘ओके दिदी !’ राकेशले छोटो जवाफ दियो ।
‘हेर् आज मैले तँलाई आसामको दामी चिया ल्याइदिएकी छु । एकचोटी खाइस् भने पल्किन्चेस् तँ ।’ आशाले ब्यागबाट चियाको पाकेट निकालेर देखाई ।
‘ए हो र ! तैंले ल्याएको चिया खाइहालौं न त । खै ले म पकार ल्याउँचु ।’ जुनेलीले भनी ।
‘आज मेरो हातले पकाको चिया खा न !’
‘मेरोमा आएर तैंले चिया पकाउन सुहाउँच ?’
‘मेरोमा जाँदा तंैले पकाकी थिनस् र ?’
‘तेरो पकाउने रहर छ भने पका न त । चिनी सानो बट्टामा छ । तँ चिया पकाउँदै गर् म कोठा मिलाउँचु । सारै भद्रगोल भा छ ।’
आशा चिया पकाउन थाली । हैन चिया छान्ने जाली कता छ देखिन त मैले ? चिया पाकिसक्यो ।’ आशाले भनी ।
‘ऊ के त तेरै अगाडि । आँखा पनि केभाका हुन् कुन्नि !’
चिया तयार भयो । आशाले कपमा चिया हाली । दुबै चिया खान बसे । जुनेलीले चियाको सुर्को तानी । ‘कस्तो लाग्यो त मैले ल्याको चिया ?’
‘मीठो छ सारै मीठो । यो चिया काँ पाइन्च मलाई पनि भन् न ।’
‘बागबजारमा पाइन्च । ठमेलबाट फर्कंदा लिएर आम्ला ।’
दिनको बाह्र बजे आशा र जुनेली डेराबाट निस्के । लगनखेलमा रत्नपार्क जाने बस तयार थियो उनीहरू बसमा चढे ।
गेष्टहाउसको बाहिरपट्टि राकेश उभिइरहेको थियो । ‘तिमीहरू गफ गर्र्दै गर म कोठा बुक गरेर आउँचु ।’ आशाले भनी ।
जुनेली र राकेशको आँखा जुधे । जुनेली लजाएजस्तो गरी । ‘आज त बीचैमा छोडेर जानुहुन्न नि ?’ राकेशले हाँस्दै सोध्यो ।
राकेशको प्रश्न सुनेर जुनेली लाजले पानीपानी भई । ऊ केही पनि बोलिन ।
आशा आइपुगी । ‘ल जाउँ अब । मैले सबै बन्दोबस्त मिलाइसकेँ ।’ उसले भनी ।
उनीहरू कोठाभित्र छिरे ।
कोठाभित्र मधुरो आवाजमा हिन्दी गीत बजिरहेको थियो–
‘प्यार किया तो डरना क्या, जब प्यार किया तो डरना क्या …. !’
‘गीत पनि छानेरै बजाकोे रैच । जुनेली ! तँलाई धेरैधेरै बधाई छ ! तिमेरु बस्दै गर म बाहिर निस्केँ !’ आशा ढोका बन्द गरेर बाहिर निस्किई ।
‘दिदी ! थोरै वाइन वा ह्विस्की पिउने कि डर लाग्दैन !’ राकेशले सोध्यो ।
‘म एक पेग वाइन खान्चु ।’
‘उसो भए म ह्विस्की लिन्छु । दिदी ! तपाईं अति राम्री हुनुहुन्छ । तपाईंजत्ति राम्री केटी मैले देखेको छैन !’ जुनेलीको अनुहार मुसार्दै राकेशले भन्यो ।
‘मलाई दिदी नभन राकेश ! त्यो शरीरले यो शरीरको भोक मेटाउनु अनि दिदी भाइको साइनो पनि गाँस्नु !’
‘हुन्छ, आजदेखि म तपाईंलाई जुनेली मात्र भन्छु !’
जुनेली राकेशको नजिक गई । त्यस दिन जुनेलीलाई रत्तिभर लाज लागेन । राकेशले जुुनेलीलाई बाहुपासमा कस्यो ।
‘तिमीले अघिल्लो पटक देखाएको आत्म संयमबाट म अति प्रभावित छु राकेश ! आज म लाजमाथिका पर्दाहरू एकएक गर्दै खोल्न तयार छु । माई डिअर ब्वाय !’ राकेशको गालामा प्याट्ट हान्दै जुनेलीले भनी ।
जुनेलीले एकएक गर्दै लाजका सबै पर्दाहरू खोल्दै गई । प्रेम बिस्तारैबिस्तारै सीमान्त बिन्दुमा उक्लियो । प्यासले पानी पायो । केहीबेरमा सबै खेल समाप्त भयो ।
‘आज त निकै दरो मन बनाएर आउनुभा रैछ ! धन्यवाद छ !’ राकेशले भन्यो ।
‘डर त त्यही दिन सकियो जुन दिन म तिमीलाई छोडेर भागेकी थिएँ ! ह्याण्डसम् ब्वाई !’ जुनेलीले भनी ।
लगत्तै आशा आइपुगी । ‘आज जूनजस्तै उजेली देखिएकी छेस् ! आजको ट्रिप कस्तो रह्यो त ?’ उसले हाँस्दै सोधी ।
‘छि तँ पनि ! के ठट्टा गरिराखेकी ? कुरा बुझे भैगो नि ।’
‘यस्तो मौकामा ठट्टा नगरेर सिरियस बनूँ त ? अनि सुन । अब बाहिर निक्लने तेरो पालो ! तँ एक घण्टाजति बाहिर घुम्दै गर । म निस्केसी सँगै जाम्ला ।’
‘हस् हजुर ! जो आज्ञा ।’ जुनेली हाँस्दै निस्किई ।
ऊ केहीबेर बाहिर टहलिई । उसलाई तिर्खा लागेर आयो । ऊ कोल्ड ड्रिंक्स पसलमा पसेर कोल्ड ड्रिंक्स पिउन थाली ।
अचानक कृष्ण देखाप¥यो । कृष्णलाई देख्नासाथ जुनेली पिउँदै गरेको चिसो छोडेर निस्कन खोजी । कृष्ण उसको पछिपछि गयो ।
‘हेल्लो सती सावित्री !’ व्यङ्ग्य गर्दै उसले भन्यो ।
‘तँ मेरो नजिक नआइज । म तेरो मुख हेर्न चाहन्न ।’ उसले भनी ।
‘बीस बाइसको पट्ठा ठिटाको मुख हेर्न पल्केकालाई हामीजस्ताकोे मुख हेर्न किन मन लाग्थ्यो ! ए जुने ! आफूलाई के के न हुँ भन्ने घमण्ड गर्न छोडिदे । तेरो चर्तिकला मेरो मोबाइलमा कैद छ !’
कृष्णका कुराले जुनेली झसंग भई । उसको शरीर लल्याकलुलुक भएर आयो । ‘तँ के भन्न खोज्दैछस् सोझै भन् ।’ अकमकाउँदै उसले भनी ।
‘तैंले एकछिनअघि गेस्टहाउसभित्र रचेको रासलीलाको भिडियो मसित सुरक्षित छ । देखाइदिउँ हेर्चेस् ? हेर्ने आँट छ ?’
जुनेलीको होसले ठाउँ छोड्यो । ‘त्यस्तो गोप्य कामको भिडियो कसरी उसको हामा प¥योे ? कसरी बाहिर आयो ? कृष्णलाई त्यो भिडियो कस्ले दियो ?’ उसले मनमनै आफूमाथि घोर षड्यन्त्र भएको अनुमान लगाई । सोच्दासोच्दै ऊ झन् हड्बडाई ।
‘ओई ! के सोचेकी ? म यो पोर्न भिडियो फेसबुकमार्फत सार्वजनिक गरिदिन्चु बुझिस् !’ उसले धम्की दियो ।
अब जुनेलीले कृष्णसामु आत्मसमर्पण गर्नु बाहेक अरु उपाय देखिन । त्यसैले उसले भनी ‘बिन्ती छ कृष्ण ! त्यसो नगर । म बर्बाद हुन्चु । बरु म तिमीले भनेको सबै कुरा मान्न तयार छु ।’
‘त्यसका लागि यौटा सर्त छ !’ कृष्णले भन्यो ।
‘भन त्यो के हो ।’
‘आजदेखि तँ मैले बोलाएको ठाउँमा आउन पर्छ । म जे भन्छु त्यो गर्न पर्छ । चलाखी गरिस् भने डुब्छेस् नि फेरि ।’
‘त्यस्तो हुनै सक्दैन । ममाथि विश्वास गर । अहिले जान देऊ । ज्वरो आउलाजस्तो भएर आयो । म तिमीसित भोलि भेट्चु ।’
‘हुन्छ अहिले जा । भोलि मैले भनेको ठाउँमा आउने नि फेरि !’ आदेशात्मक शैलीमा उसले भन्यो ।
‘हस् हुन्च ।’ छोटो जवाफ दिँदै जुनेली त्यहाँबाट हिँडी ।
जुनेली लगनखेल पुगिसकेकी थिई । आशाको फोन आयो । ‘हैन तँ काँ छेस् ? म तँलाई खोजिराखेकी !’
‘म लगनखेल आईपुगेँ । विश्वासघातीलाई पर्खेर बस्न मन लागेन ! त्यसैले हिडेँ ।’
‘मैले कुन कुराको विश्वासघात गरेँ ? अचम्म छ वा !’
‘राकेश र मबीचको पोर्न भिडियो कस्ले खिच्यो ? अनि त्यो कसरी कृष्णको हातमा प¥यो भन् त ?’
‘कृष्णसित तेरो कैले भेट भो र ?’
‘पानीमाथि ओभानो बन्ने कोसिस नगर । सबै कुरा था हुँदाहुँदै किन सोध्चेस् !’
‘धरोधर्म ! गाई खाने ! मलाई था भए त । तँ धेरै शंकालु छेस् । नचाहिँदो शंका नगर ।’
‘मेरो निसाना गलत ठाउँमा छैन । भन् पोर्न भिडियो कसरी कृष्णको हातमा प¥यो ?’
‘तैंले भिडियो हेरिस् ? भन् त कस्तो थियो ?’
‘त्यो त मैले हेरिन तर कृष्ण, राकेश र मबीच भएको खेलको जस्ताको तस्तै कुरा गरिरहेको थियो ! भन्दैथियो– ऊसित राकेश माथि म तल भएकोे आपत्तिजनक पोर्न भिडियो छ !’
‘उसले अनुमानका भरमा तीर चलाको होला तर तँ तीर लागेर घाइते भइस् । के भन्चे भनेर मन चोरेको पनि हुनसक्च । चोरको खुट्टा काट् भन्दा हत्त न पत्त आफ्नो खुट्टा तान्न त भएन नि ! तैंले त पुलिसका अगाडि परेको अपराधीजस्तै साविती बयान दिइस् कि क्या !’
‘हँ ….मैले कृष्णलाई साविती बयान दिएँ भनेर तैँले कसरी था पाइस् ?’
‘फेरि मेरो शंका गरी यल्ले । धेरै शंका नगर । शंकाले लंका जलाउँच । कागले कान लग्यो भन्दैमा पहिले कान छाम्ने कि कागको पछि दगुर्ने ?’
‘ल भैगो पछि कुरा गरम्ला । तँसित कुरा गर्न कल्ले सक्च र !’ यति भन्दै जुनेलीले फोन काटी ।
त्यो घटनापछि कृष्ण हरेक दिनजसो जुनेलीलाई बोलाउँथ्यो । जुनेली पसल बन्द गरेर उसले भनेको ठाउँमा लुरुलुरु जान्थी अनि कृष्ण नामधारी ब्वाँसोकोे सिकार भएर आउँथी । आनाकानी ग¥यो भने ऊ फेसबुकमा पोर्न भिडियो राखिदिने धम्की दोहो¥याउँथ्योे ।
जुनेली बाहिर निस्कन नसक्ने गहिरो भासमा फसेकी थिई । उसलाई आफ्नो पीडा सुनाउने ठाउँ थिएन । सवाल इज्जतको थियो । इज्जत गुम्ला भन्ने डरले उसले साँचो कुरा कसैलाई भन्न सकिरहेकी थिइन । परदेशमा रहेको लोग्नेलाई त झन् भन्ने कुरै भएन ।
(तिवारीको केही समयअघि बजारमा आएको ‘निलोफर’ बाट ।)
प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार ०८:००