१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युतको आईपिओ बाँडफाँड, कसले कति पाए ?

१९ वैशाख, काठमाडाैँ । रसुवागढी हाइड्रोपावरले बैशाख ६ देखि १२ गतेसम्म निष्काशन गरेकाे साधारण शेयर बाँडफाँड भएको छ । बिहिबार उर्जा मन्त्रालयको सभाहल, सिंहदरबारमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितिमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम आईपिओ बाँडफाँड गरिएको हो।

रसुवागढीमा आवेदन गर्ने लगानीकर्ताले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् भने ४० कित्तासम्म माग गर्ने आवेदकले माग अनुसार नै शेयर पाएका छन् ।

४० कित्ताभन्दा बढी शेयर माग गर्ने आवेदकलाई पनि ४० कित्ताका दरले समानुपातिक रुपमा शेयर बाँडफाँड गरि बाँकी रहेको २ लाख ३६ हजार ९३० कित्ता शेयर गोलाप्रथाबाट २३ हजार ६९३ जनालाई थप १० कित्ता गरि कूल ५० कित्ता बाँडफाँड गरिएको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार रसुवागढी हाइड्रोपावर कम्पनीको आईपिओमा कूल एक करोड ७१ लाख ७ हजार ८४० कित्ताको माग भएको थियो। कम्पनीको आईपिओमा ३ लाख २ हजार ३४३ आवेदनबाट १.८३ गुणा बढी शेयर माग भएको होे।

सिद्धार्थ क्यापिटका अनुसार आईपिओमा आवेदन परेको ११ हजार ७१ वटा आवेदनबाट परेको ९ लाख ८७ हजार ३७० कित्ता शेयरको माग विविध कारणले रद्ध भएको छ भने पाँच हजार ३७० वटा ५ लाख ६० हजार ७६० कित्ता रिजेक्टेड भएको छ । दुई लाख ९१ हजार २७२ वटा आवेदनबाट एक करोड ६१ लाख २० हजार ४७० कित्ताको माग सदर भएको छ।

कम्पनीले सर्वसाधारणमा ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कूल एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर निष्काशन गरेकामा ४ लाख १० हजार ५२६ कित्ता हाइड्रोपावरका कर्मचारीहरुका लागि र ५ लाख १३ हजार १५७ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

साञ्जेन जलविद्युतको आईपिओमा अधिकांशले पाए २० कित्ता शेयर

साञ्जेन जलविद्युत बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार साञ्जेन जलविद्युत कम्पनीको शेयरमा १० कित्ताका लागि आवेदन गरेका ५९ हजार ४५५ जना आवेदकलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको छ ।

२० देखि २ हजार कित्तासम्म आवेदन गर्ने २ लाख २९ हजार ४४२ आवेदकमध्ये ९१.२३ प्रतिशत अर्थात दुई लाख ९ हजार ३२८ आवेदकले गोलाप्रथाबाट थप १० कित्ता गरि २० कित्ताका दरले शेयर पाएका छन् । ८.७७ प्रतिशत अर्थात २० हजार ११४ आवेदकले थप १० कित्ता शेयर प्राप्त गर्न सकेनन्।

साञ्जेनको आईपिओमा सबै सदर आवेदक २ लाख ८८ हजार ७९७ जना आवेदकलाई १० कित्ताका दरले समानुपातिक रुपमा २८ लाख ८८ हजार ९७० कित्ता शेयर बाँडफाँड गरिएको हो । बाँकी रहेको २० लाख ९३ हजार २८० कित्ता शेयर २० कित्ताभन्दा बढी आवेदन गर्ने २ लाख ९ हजार ३२८ जना लगानीकर्तालाई गोलाप्रथाबाट थप १० कित्ताका दरले वितरण गरिएको हो।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार साञ्जेनको आईपिओमा कूल एक करोड ३८ लाख ६९ हजार ७३० कित्ता शेयरको माग भएको थियो । ३ लाख ५९७ आवेदनबाट २.७८ गुणा बढी शेयर माग भएको हो ।

आईपिओमा आवेदन गरेर विविध कारणले ११ हजार ७०० वटा आवेदनबाट परेको ८ लाख ७३ हजार ५१० कित्ता रद्ध भएको छ भने २ लाख ८८ हजार ८९७ आवेदनबाट परेको एक करोड २९ लाख ९६ हजार २२० कित्ताको आवेदन सदर भएको थियो।

साञ्जेनले सर्वसाधारणहरुबाट ४९ लाख ८२ हजार २५० कित्ता शेयरमा आवेदन माग गरेको थियो। कूल ५४ लाख ७५ हजार कित्ता आईपिओ निष्काशन गरेकोमा २ लाख १९ हजार कित्ता जलविद्युत कम्पनीका कर्मचारी र २ लाख ७३ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार १९:४१