१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि आजदेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा

१६ वैशाख, काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा साेमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ ।प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने छन् ।

त्यसैगरी त्यही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने प्रवक्ता वैद्यले जानकारी दिइन । ‘चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट रु ५० लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट रु ९० लाग्ने छ,’ प्रवक्ता वैद्यले भनिन् ।

त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट रु ५३ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट रु ३० लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट रु ३० लाग्ने छ । नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट रु १४ लाग्ने छ । भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट रु ३९७ लाग्ने छ भने एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रतिएसएमएस रु ५४ र भारतबाट प्रति एसएमएस रु २४ लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार ०९:०८