१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

भिजिट नेपाल २०२० सफल पार्न यती एयरलाइन्सले ल्यायो नयाँ विमान, यस्तो छ विशेषता

१३ वैशाख, काठमाडाैँ । यती एयरलाइन्सले आफ्नो बिमान संख्या तथा सेवा बिस्तार गर्ने क्रममा आज चौथो एटिआर ७२–५०० बिमान भित्र्याएको छ । उत्पादन क्रमसंख्या एमएसएन ७५४ तथा नेपाली रजिष्ट्रेशन नं. ९ एन–एएनसी रहेको उक्त बिमान आज २६ अप्रिल २०१९ का दिन थाइल्याण्डको राजधानी बैंङ्ककबाट उडेर दिउँसो १ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गरेको हो ।

भिजिट नेपाल २०२० वर्षमा नेपाल सरकारको २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानहरुले मद्दत गर्नेछन् भन्ने विश्वास यति एअरलाइन्सले लिएको छ । एटिआर ७२–५०० एक फ्रान्सेली – इटालियन कंसोर्टियम एटिआरद्धारा निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो । यसको सर्वश्रेष्ठ निर्माण र प्रदर्शनका कारण एटिआर ७२ विश्वमै सवै भन्दा सफल क्षेत्रिय क्यारियर बनेको छ । साथै एटिआर ७२ ले विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउदै गइरहेको छ ।

एटिआर ७२–५०० दुई प्राट एण्ड व्हिट्नी पिडब्लू १२७ इन्जिनहरुद्धारा संचालित छ । यी उच्च प्रविधियुक्त इन्जिन र प्रोपेलरहरु उत्कृष्ट प्रदर्शन,इन्धन बचत, उल्लेखनिय ध्वनीको कमी र कम ग्रीन हाउस ग्याँस उत्सर्जन जस्ता कुरा सुनिश्चित गर्दछन् । यति एअरलाइन्सले सन् १९९८ देखि आफ्नो उडानको शुरुवात गरेको हो र यतीसँग हाल एटिआर ७२–५०० वाहेक बिएइ सिस्टमको जे ४१ विमान ५ वटा र भगिनि संस्था तारा एअरको दुई वटा डोर्नियर डिओ २२८ र चार वटा डिएचसी ६ टवीनवटर विमानबाट नेपालको सबैभन्दा ठूलो हवाई संजालबाट आफ्नो सेवा प्रदान गरीरहेको छ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार २३:१३