१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

उद्योगीहरुद्धारा बैंकको ब्याजदर ३ प्रतिशत कायम राख्न सरकारसँग माग

११ बैशाख, काठमाडौँ । उद्योगी/व्यवसायीहरुले बैंकको ब्याजदर ३ प्रतिशत कायम राख्न सरकारसँग माग गरेका छन् । उद्योगी/व्यवसायीहरुले उत्पादनमूलक क्षेत्रमा पनि बैंकको व्याजदर ३ प्रतिशत कायम नराखे मुलुकको व्यापार घाटा झनै बढेर जानेतर्फ पनि सरकारलाई सचेत गराएका छन ।

बुधबार नेपाल राष्ट्र बैंकले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्षको प्रि–बजेट’ छलफल कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उत्पादनमूलक क्षेत्रको लगानीका लागि बैंकको ब्याजदर ३ प्रतिशत कायम गर्न सरकारसँग माग गरेका हुन् ।

हाल बैंकहरुले उत्पादनमूलक क्षेत्रको लगानीका लागि ४ दशमलव ७५ प्रतिशत व्याज लिँदै आएका छन् । त्यसलाई निरन्तरता दिए नेपाली उद्योगले अन्तर्राष्ट्रिय बजारसँग प्रतिष्पर्धा गर्न नसक्ने वरिष्ठ उपाध्यक्ष गोल्छादे बताए ।

बैदेशिक रोजगार कम्पनीहरुले पनि धरौटीका लागि राखिएका करोडौं रकमको व्याज दिने नीतिगत अवधारणा तत्काल तय गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले करोडौंको रकम धरौटीवापत बुझाउनुपरेको उल्लेख गर्दै त्यसको ब्याज दिने नीतिगत व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग माग गरे ।

सरकारले हाल बैदेशिक रोजगार कम्पनीसँग धरौटीबापत २ देखि ६ करोडसँग रकम लिने गरेको छ । त्यसको ब्याज नदिने हो भने बैदेशिक रोजगार व्यवसाय धरासायी हुने र त्यसले मुलुकको अर्थतन्त्रनै संकटमा पार्ने संघका अध्यक्ष गुरुङको भनाई छ ।

संघले सरकारले वैदेशिक रोजगार व्यवसायीहरुको हित अनुकूल काम गर्न नसकेको गुनासो गर्दै आएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार १९:१३