१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

रसुवाबासीकाे आग्रहमा रसुवागढी र साञ्जेनको शेयर पहिला सर्वसाधारणलाई

– रमेश लम्साल

२६ चैत, काठमाडौँ । रसुवालीको आग्रहमा रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको शेयर सर्वसाधारणलाई पहिले बिक्री गर्न लागिएको सम्बन्धित आयोजनाले स्पष्ट पारेको छ ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र ऋणदाता संस्थाका कर्मचारीलाई शेयर बिक्री गरेपनि नियमानुसार आयोजना प्रभावितलाई साधारण शेयर बिक्री गर्नुपर्नेमा ती आयोजनाले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेका हुन् ।

नेपाल धितोपत्र बोर्डको नियमअनुसार आयोजना प्रभावितलाई १० प्रतिशत साधारण शेयर बिक्री गर्नुपर्छ । रसुवालीले आफूहरु भूकम्पपछिको पुनःनिर्माणामा लागेको र शेयर खरीदका लागि तत्काल रकम जुटाउन असक्षम रहेको भन्दै आयोजनाका प्रवद्र्धक कम्पनीलाई आग्रह गरेको चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले जानकारी दिए ।

सरकारले ती आयोजनालाई यही चैत १८ गते जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । रसुवावासीको आग्रहमा ती आयोजनाको शेयर सर्वसाधारणलाई बिक्री भइसकेपछि मात्रै वितरण गर्ने गरी बोर्डबाट पनि स्वीकृति लिइएको कोइरालाको भनाइ छ । रसुवाका स्थानीय निकाय, जिल्ला समन्वय समिति र सम्पूर्ण राजनीतिक दलको तर्फबाट शेयर बिक्री गर्ने समय पछि सारिदिन आग्रह गरेका थिए । सोही आग्रहअनुसार कम्पनीले व्यवस्था मिलाएको छ ।

साञ्जेन र रसुवागढी दुवै आयोजनाले स्थानीय प्रभावितलाई शेयर बिक्री गर्दा करीब १ अर्ब बराबरको आवेदन जिल्लामा पर्ने अनुमान छ । भूकम्पपछिको पुनःनिर्माणमा सो जिल्लाका अधिकांश नागरिक संलग्न भएका कारण शेयरमा लगानी गर्ने रकम अभाव हुने स्थानीयवासीको भनाइ छ । साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्थानीयवासीको आग्रहलाई आयोजनाले सम्बोधन गरेको बताए ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ती आयोजनाका प्रमुखले चिलिमे कम्पनी आफैँमा सफल कम्पनी रहेको र त्यसका सहायक कम्पनीको शेयरमा समेत आम नागरिक सहभागी हुने अपेक्षामा रहेको बताए ।

सबैलाई समावेश गर्ने विधि खोजिदै

पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सबै नेपाली नागरिकलाई जलविद्युत्को शेयरधनी बनाउने उपायको खोजी गरिने उल्लेख गरे । विद्यमान संरचनाअनुसार सबै नागरिक शेयरधनी हुन नसक्ने भन्ने आशङ्का पैदा भइरहेको अवस्थामा मन्त्री पुनको सो धारणा आएको हो । उनले भने, “सबै नागरिकले सानोतिनो लगानी गर्न सक्ने वातावरण बनाउनुपर्छ । त्यसका लागि शेयर संरचनामा समेत परिवर्तन जरुरी छ । विस्तारै सबै प्रक्रिया र चासोसमेत मिल्दै जान्छ ।”

हाल १५ लाख बराबरमात्रै हितग्राही खाता खोलिएको छ । आम नागरिकलाई शेयरधनी बनाउनका लागि हितग्राही खाता खोल्ने अभियान चलाउनु आवश्यक छ । सरकारले घोषणा गरेको जनताको जलविद्युत् कार्यक्रमको पहिलो योजनामा समेत शहरी क्षेत्रमा रहेका लगानीकर्ता सहभागी भए । रसुवागढी र साञ्जेनको शेयरमा समेत सोही अवस्था आउने सम्भावना बढी छ । मन्त्री पुनले आगामी दिनमा सो कार्यक्रममा समावेश भएका आयोजनालाई सम्बन्धित प्रदेशलाई नै निश्चित प्रतिशत छुट्याएर शेयर दिने प्रणालीको शुरुआत गरिने बताए ।

“सबै नागरिक जलविद्युत्को शेयरमार्फत आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नुपर्छ भन्ने सरकारको चाहना छ । कसरी बढीभन्दा बढी नागरिक सहभागी हुन्छन् भन्नेमा सरकार र मन्त्रालय चिन्तित छ । उपयुक्त विकल्पको खोजी गरिन्छ”, मन्त्री पुनले भने ।

हजार कित्ता आवेदन दिन्छु– मन्त्री पुन

जनताको जलविद्युत् कार्यक्रमको पहिलो आयोजनाको रुपमा रहेको माथिल्लो त्रिशूली थ्री बी मा आम जनताको ठूलो उत्साह देखिएको भन्दै मन्त्री पुनले रसुवागढी र साञ्जेनको शेयरमा समेत त्यस्तै उत्साह रहने विश्वास व्यक्त गरे । माथिल्लो त्रिशूली थ्री बी मा एक हजार कित्ता शेयर आवेदन गर्दा आफूलाई २० कित्ता शेयर परेको भन्दै मन्त्री पुनले आगामी वैशाख ६ गतेदेखि बिक्री हुन लागेको रसुवागढी र साञ्जेनमा भने एक हजार कित्ता आवेदन गर्ने खुलासा गरे ।

मन्त्रिपरिषद्को बैठकमा समेत सङ्घीय सरकारका मन्त्रीले आफूहरु समेत जनताको जलविद्युत्को शेयरधनी बन्ने इच्छा व्यक्त गरेको जानकारी दिँदै मन्त्री पुनले भने, “राजनीतिक नेतृत्व, कर्मचारी सबैतिर उत्साह छ, हामीले अगाडि सारेको कार्यक्रम सफल हुन्छ भन्ने विश्वास लिएका छौँ ।” रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले कूल रु एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ । रासस

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार १७:०३