एमालेको राष्ट्रिय भेलाको तयारी पूरा, चुनावी रणनीति बनाउन ३ हजारभन्दा बढी प्रतिनिधि काठमाडौंमा जुट्दै
३० कात्तिक, काठमाडौं । नेकपा एमालेले पार्टीको राजनीतिक दिशा स्पष्ट पार्ने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित बनाउने उद्देश्यसहित राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आगामी मंसिर २ र ३ गते काठमाडौंमा हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको हो।
भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिसमेत गरी ३ हजार १४९ जनाको सहभागिता रहने एमालेले जनाएको छ। पार्टीको इतिहासमै पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसद् तथा स्थानीय तहका जनप्रतिनिधि एउटै थलोमा सहभागी हुन लागेको यो पहिलो पटक भएको एमालेको दाबी छ।
भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ। मण्डिखाटारस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलामा पार्टीकी वरिष्ठ नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रमसमेत तय गरिएको छ।
एमालेका अनुसार भेलाको मुख्य उद्देश्य पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकबाट पारित दुई प्रमुख कार्यभार र गर्नुपर्ने पन्ध्र कामलाई एकजुट भएर कार्यान्वयन गर्नु हो। आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टीपंक्तिमा एकरूपता, राजनीतिक बुझाइ र दृष्टिकोणमा समानता तथा संगठनात्मक एकता सुदृढीकरण भेलाका प्रमुख एजेन्डा रहेका छन्।
भेलामा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेलले प्रशिक्षण तथा प्रस्तुति दिने कार्यक्रम छ। त्यस्तै, महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजनासम्बन्धी प्रस्तुति दिने एमालेले जनाएको छ।

प्रेस विज्ञप्तिमा एमालेले २०८२ भदौको आन्दोलन, तोडफोड र लुटपाटका घटनापछि मुलुकको राजनीतिक तथा लोकतान्त्रिक वातावरण थप जटिल बन्दै गएको टिप्पणी गरेको छ। सरकारले गरेका कामकारबाहीले जनमानसमा असन्तुष्टि, अन्योल, निराशा र आक्रोश बढाएको एमालेको आरोप छ।
राष्ट्रिय भेलामार्फत पार्टीभित्र वैचारिक तथा संगठनात्मक एकता मजबुत बनाउने र मुलुकमा देखिएको निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने लक्ष्य लिइएको पार्टीले जनाएको छ।
भेलामा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो आवासको व्यवस्था आफैँ गर्नुपर्नेछ। आवास व्यवस्थापन गर्न नसक्ने सहभागीका लागि सम्बन्धित जिल्ला सम्पर्क कमिटीले आवश्यक समन्वय गर्ने एमालेले जनाएको छ। भेलास्थलमा स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क, सवारी पार्किङ तथा सुरक्षा व्यवस्थासमेत मिलाइएको छ।
पार्टीले भेलाको समाचार संकलन तथा सम्प्रेषणका लागि सञ्चारकर्मीहरूलाई आमन्त्रण गर्दै मिडिया सेन्टरमार्फत आवश्यक समन्वय गरिने जनाएको छ।



प्रकाशित मिति : November 16, 2026 at 4:06 pm










