१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

शिखर इन्स्योरेन्सले कमायो ४ करोड ११ लाख नाफा, ईपीएस कति ?

३० कात्तिक, काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य खुद नाफा आर्जन गरेको छ। कम्पनीले समीक्षा अवधिमा ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो बर्षकाे साेही अवधिमा कम्पनी १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ खुद घाटामा रहेको थियो।

कम्पनीको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद आर्जित बीमाशुल्क १३.७९ प्रतिशतले वृद्धि भएर ३३ करोड ८ लाख ९३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो अवधिमा यस्तो बीमाशुल्क २९ करोड ७ लाख ८६ हजार रुपैयाँ रहेको थियो।त्यस्तै, कम्पनीको कुल आम्दानी १७.३३ प्रतिशतले बढेर ६३ करोड २४ लाख २४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो अवधिमा कम्पनीले ५३ करोड ९० लाख ११ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कुल खर्च २५.०६ प्रतिशतले घटेर ५७ करोड ३६ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो अवधिमा कम्पनीको कुल खर्च ७६ करोड ५५ लाख ६३ हजार रुपैयाँ रहेको थियो। कम्पनीको कुल दाबी भुक्तानी भने ९७ प्रतिशतले बढेर १३४ करोड ३ लाख १० हजार रुपैयाँ पुगेको छ। अघिल्लो अवधिमा कम्पनीले ६८ करोड २ लाख २४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १० करोड १५ लाख ६७ हजार रुपैयाँ र जगेडा कोषमा १ करोड ६८ लाख १९ हजार रुपैयाँ रहेकाे छ । नाफामा सुधार आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ऋणात्मकबाट सकारात्मक बनेको छ। अघिल्लो अवधिमा २१ रुपैयाँ ७० पैसा ऋणात्मक रहेको ईपीएस समीक्षा अवधिमा ५ रुपैयाँ ३० पैसा कायम भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ७४ पैसा रहेको छ।

प्रकाशित मिति : November 16, 2026 at 11:40 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/