अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटकको चाप बढ्यो, अक्टोबरमा मात्रै भित्रिए ४१ हजारभन्दा बढी
२९ कात्तिक, काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा अक्टोबर महिनामा ४१ हजार ७५८ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।गत वर्षको अक्टोबरको तुलनामा यस वर्ष पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको हो । गत वर्ष अक्टोबरमा ३७ हजार ७६ जना विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । यस वर्षको सोही अवधिमा पर्यटकको संख्या ४ हजार ६८२ ले बढेको हो ।

अक्टोबरमा अन्नपूर्ण क्षेत्र पुगेका कुल विदेशी पर्यटकमध्ये १९ हजार २०७ जना दक्षिण एसियाली मुलुकका नागरिक रहेका छन् । बाँकी पर्यटक अन्य विभिन्न मुलुकबाट आएका हुन् । सन् २०२६ सुरु भएयता अन्नपूर्ण क्षेत्रमा सबैभन्दा धेरै विदेशी पर्यटक जुन महिनामा पुगेका थिए । जुनमा मात्रै १ लाख ८ हजार ७०३ जना विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसैगरी जनवरीमा भने सबैभन्दा कम २० हजार ६३ जना पर्यटक आएका थिए ।
आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको तथ्यांक मात्र राख्दै आएको छ । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र घोडेपानीलगायतका गन्तव्य विदेशी पर्यटकको प्रमुख रोजाइमा पर्दै आएका छन् । करिब ७ हजार ६०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहअन्तर्गत ८७ वडा समेटिएका छन् ।
प्रकाशित मिति : November 15, 2026 at 4:54 pm








