३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

२९ कात्तिक, काठमाडौं । टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले जलवायु वित्तसम्बन्धी करिब एक दर्जन उच्चस्तरीय कार्यक्रममा सहभागिता जनाएका थिए ।

उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए । त्यस्तै, सात वर्षअघि स्थापित ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपाललाई नयाँ सदस्यका रूपमा समावेश गराउँदै ‘उत्थानशीलताका लागि वित्त’ सम्बन्धी नीतिगत अवधारणा छलफलका लागि प्रस्तुत गरेका थिए ।

विपद्पछि ऋणमोचनको विश्वव्यापी अभियान सञ्चालन गर्दै आएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र विश्व अर्थतन्त्रको ८५ प्रतिशत हिस्सा ओगट्ने जी–२० समूहको आगामी अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग पनि अर्थमन्त्रीले भेटवार्ता गरेका थिए । सो क्रममा विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्ने प्रतिबद्धता प्राप्त भएको उनको सचिवालयले जनाएको छ ।

नेपालले कोप–३१ मा उठाएका विषयमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले अर्थमन्त्री वाग्लेले पाँच प्रभावशाली जलवायु दूतसँग पनि छलफल गरेका थिए । छलफलमा बेलायतकी रेचेल काइट, अस्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमैकाका डेल वेबर र संयुक्त राष्ट्रसङ्घका महासचिवका दूत सेल्विन हार्ट सहभागी थिए ।

त्यसैगरी, हरित जलवायु कोषको उच्च नेतृत्वसँग भावी कार्यक्रमबारे छलफल गरेका थिए । जेनेभास्थित विश्व मौसम विज्ञान सङ्गठनको नेपालले समेत लाभ लिएको जलवायु मापन कोषसम्बन्धी कार्यक्रममा पनि उनले सम्बोधन गरेका थिए ।जलवायु तथा अर्थशास्त्रका विज्ञ प्राध्यापक योहान रक्स्त्रम र प्राध्यापक निकलस स्टर्नसँग पनि अर्थमन्त्रीले भेटघाट गरेका थिए । सम्मेलनका क्रममा उनले न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिएका थिए । सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु मुद्दाका १०० प्रभावशाली व्यक्तित्वको सम्मानमा आयोजित कार्यक्रममा पनि अर्थमन्त्री सहभागी भएका थिए ।

प्रकाशित मिति : November 15, 2026 at 2:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/