३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

विमानस्थलबाट करिब २२ करोडको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

२९ कात्तिक, काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड मूल्य बराबरको लागुऔषध सेतो हेरोइनसहित एक जनालाई पक्राउ गरेकाे  छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी नाम गरेका व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए । थाइल्यान्डबाट काठमाडौँ ल्याएको साढे ५ केजी सेतो हेरोइन बरामद गरिएको हाे। बरामद सेतो हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड पर्ने आकलन गरिएको छ । सेतो हेरोइन प्रतिग्राम ४० हजारको दरले कारोबार हुने बताइएकाे छ ।

शनिबार बिहान प्रहरीले शङ्का लागेर चेकजाँच गर्दा उनले ल्याएको लगेजमा खरायो र बिरालोको खानाको प्याकेटमा लुकाएको अवस्थामा सेतो हेरोइन फेला परेको थियो । पक्राउ परेका भारतीय यसअघि पनि दुई पटक लाओसबाट काठमाडौँ आएर भारत गएको ट्राभल हिस्ट्री भेटिएको छ । उनले जिम्बाम्बे, सुडान, बङ्गलादेश र कम्बोडियाको भ्रमण गरेको यात्रा विवरण देखिएको छ ।

 उनी लागुऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालको मुख्य व्यक्ति रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएकाे छ । उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र समेत बरामद गरिएको छ । उनीमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : November 15, 2026 at 12:59 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/