एकैदिन १४ प्रकारका मुद्दाका २२ प्रतिवादी पक्राउ
२८ कात्तिक, विराटनगर । मोरङ प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४ प्रकारका मुद्दामा २२ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले मोरङ जिल्ला अदालत, विराटनगरबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका उनीहरूलाई २०८३ कात्तिक २७ गते विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारबाही तथा जरिवाना असुलउपर हुने गरी मोरङ जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये सवारी ज्यान मुद्दाका ४ जना छन्। त्यस्तै गाली बेइज्जतीका २, किर्ते जालसाजीका २, चोरीका २, हातहतियार तथा खरखजनाका २ र लागूऔषधका २ जना रहेका छन्।
त्यसैगरी सम्बन्ध विच्छेद, कुटपिट, बाली बिगो क्षतिपूर्ति, आत्महत्या दुरुत्साहन, आपराधिक लाभ, बहुविवाह, बाल यौन दुरुपयोग र कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक–एक जना पक्राउ परेका छन्।
प्रहरीले अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउँदै न्यायिक कारबाहीबाट उम्किएर फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित मिति : November 14, 2026 at 8:03 am










