२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

अमेरिकामा टेलिकम नेटवर्कमा समस्या आएपछि चार घण्टा आन्तरिक उडान ठप्प, १५ लाख यात्रु प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा टेलिकम्युनिकेसन नेटवर्कमा आएको गम्भीर समस्याका कारण आन्तरिक हवाई उडान प्रभावित हुँदा करिब १५ लाख यात्रु अलपत्र परेका छन्।

संघीय अधिकारीहरूले सुरक्षा सावधानीका रूपमा अमेरिकाभरका आन्तरिक उडानमा केही घण्टाका लागि ‘ग्राउन्ड स्टप’ लगाएपछि देशभरको हवाई यातायात अस्तव्यस्त बनेको हो। चार घण्टाभन्दा बढी समयसम्म उडान रोकिएपछि आकाशमा रहेका विमानहरू क्रमशः गन्तव्यमा अवतरण गरेका थिए।

अमेरिकी सञ्चार सञ्जालमा देखिएको समस्या नेटवर्क राउटरमा आएको खराबीका कारण सुरु भएको र त्यसले क्रमशः देशभरका नेटवर्कमा असर पारेको एक एयरलाइन्स स्रोतलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

संघीय अधिकारीहरूले अहिले आन्तरिक उडानलाई पुनः प्रस्थान गर्न अनुमति दिएका छन् । यद्यपि, लामो समयसम्म उडान रोकिँदा उत्पन्न भएको अवरोधका कारण हवाई यातायात सामान्य अवस्थामा फर्किन अझै समय लाग्न सक्ने जनाइएको छ।

उडानसम्बन्धी तथ्यांक विश्लेषण गर्ने कम्पनीको प्रारम्भिक विश्लेषणअनुसार उडान रद्द तथा प्रभावित भएपछि करिब १५ लाख यात्रु समस्यामा परेका छन् । ग्राउन्ड स्टपका कारण विमानस्थलहरूमा यात्रुको ठूलो भीड लागेको र धेरै उडानको तालिका प्रभावित भएको जनाइएको छ ।

अमेरिकाका होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुलिनले उडान रोक्नुको कारण कुनै सुरक्षा खतरा नभएको बताएका छन्। उनका अनुसार यो घटना अमेरिकामा यसै साता देखिएको माइक्रोसफ्ट सेवा अवरुद्धसँग पनि सम्बन्धित छैन।

कानुन कार्यान्वयन निकायका स्रोतहरूले प्रारम्भिक अनुसन्धानका आधारमा उक्त समस्या साइबर आक्रमणका कारण भएको देखिएको छैन।

अधिकारीहरूले नेटवर्क राउटरमा देखिएको प्राविधिक समस्याले कसरी देशव्यापी हवाई यातायातमा प्रभाव पार्‍यो भन्नेबारे थप अनुसन्धान गरिरहेका छन्।

प्रकाशित मिति : November 14, 2026 at 7:42 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/