नुवाकोट–रसुवाका बाढी प्रभावितको विद्युत् बिल रोक्का, नयाँ मिटर जडान निःशुल्क
२७ कात्तिक, नुवाकोट । लेहेन्दे भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीबाट प्रत्यक्ष प्रभावित करिब १५ सय घरधुरीको विद्युत् महसुल बिल रोक्का हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले बाढी प्रभावित ग्राहकलाई राहतस्वरूप विद्युत् महसुलमा विभिन्न छुट तथा सहुलियतको व्यवस्था गरेको हो ।
प्राधिकरणका अनुसार २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित घरधुरीका हकमा प्राधिकरण सञ्चालक समितिको २०८३ भदौ २४ गतेको निर्णयअनुसार भदौ महिनादेखिको विद्युत् बिल ‘स्टप’ गरिएको छ।
यस्तै, भदौ १० गतेदेखि असोज २ गतेसम्म कार्यालयमा महसुल भुक्तानी गर्न जाने बाटो तथा अन्य समस्यालाई मध्यनजर गर्दै बाढी प्रभावित ग्राहकसहित सबै प्रकारका ग्राहकलाई विद्युत् महसुल भुक्तानी गर्दा जरिवाना नलाग्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । उक्त अवधिमा ग्राहकले बिलमा उल्लेख भएअनुसारकै रकम भुक्तानी गर्न सक्नेछन्।

प्राधिकरणले बाढीबाट प्रभावित उपभोक्ताको विद्युत् बिल रोक्का गर्ने, बाढीमा परी क्षति पुगेका मिटरको लगत खारेज गर्ने तथा नयाँ मिटर जडान गर्दा शुल्क नलिने व्यवस्था गरेको छ।
यसैबीच, केही उपभोक्ताले विद्युत् महसुल बिलमा जरिवाना (पेनाल्टी) लगाइएको विषयमा गुनासो गरेको प्राधिकरणले जनाएको छ। बाढीबाट प्रभावित उपभोक्ताको हकमा प्राधिकरण सञ्चालक समितिको २०८३ भदौ २४ गतेको निर्णयअनुसार बिलमा जरिवाना लागेको वा अन्य कुनै समस्या देखिए आवश्यक छानबिन तथा समाधानका लागि सम्बन्धित ग्राहकलाई नुवाकोट वितरण केन्द्रको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
प्राधिकरणले उपभोक्ताका गुनासा तथा समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने जनाएको छ। बिलसम्बन्धी कुनै गुनासो भए नुवाकोट वितरण केन्द्रको ०१०–५६०६८३ नम्बरमा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।
प्रकाशित मिति : November 13, 2026 at 1:58 pm










