२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

जागिरकाे खाेजीमा हुनुहुन्छ ? नेपाली सेनामा पाइलटदेखि डाक्टर र इन्जिनियरसम्म माग

२७ कात्तिक, काठमाडौं । नेपाली सेनाले प्राड, प्राविधिक, हवाई तथा विविध सेवा तर्फका विभिन्न अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न ५० जनाका लागि दरखास्त आव्हान गरेको छ ।

जङ्गी अड्डास्थित भर्ना छनौट निर्देशनालयले शुक्रबार (कात्तिक २७ गते) एक सूचना प्रकाशित गर्दै २० वटा विभिन्न विज्ञापनमार्फत उक्त संख्यामा उपसेनानी पदका लागि आवेदन माग गरेको हो ।

कुल ५० सिटमध्ये खुलातर्फ २८, समावेशीतर्फ २० र कर्तव्य पालनाका क्रममा मृत्यु वा अशक्त भएका सैनिकका सन्ततिका लागि २ सिट छुट्याइएको छ ।

सेवाअनुसार प्राविधिकतर्फ स्वास्थ्य समूहमा १४ जना, इन्जिनियरिङ समूहमा १४ जना र लाइब्रेरियनमा २ जना माग गरिएको छ । त्यस्तै, विविध सेवातर्फ लेखा उपसेनानीमा १३ जना, हवाई सेवातर्फ ५ जना र प्राड सेवातर्फ कानुन उपसेनानीमा २ जना माग गरिएको छ ।

स्वास्थ्यतर्फ एमबीबीएस डाक्टरका लागि ९ सिट छुट्याइएको छ । यसबाहेक डेन्टिस्ट, अडियोलोजिस्ट, फिजियोथेरापिस्ट, पब्लिक हेल्थ तथा फुड एन्ड न्युट्रिसन टेक्निसियनका लागि एक–एक जना माग गरिएको छ ।

इन्जिनियरिङतर्फ सिभिल र कम्प्युटर इन्जिनियरमा ३/३ जना, मेकानिकल र आर्किटेक्चरमा २/२ जना तथा इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, बायोमेडिकल र अटोमोबाइल इन्जिनियरमा एक–एक जना माग गरिएको छ ।

हवाई सेवातर्फ पाइलट उपसेनानीमा ३ जना, एभिएसन एन्ड कन्ट्रोल इन्जिनियरमा एक जना र एभिएसन बन्दोबस्ती तथा प्राप्तितर्फ एक जना माग गरिएको छ ।

सेनाका अनुसार इच्छुक उम्मेदवारले कात्तिक २७ देखि मंसिर १७ गतेसम्म सामान्य दस्तुरमा आवेदन दिन सक्नेछन् । उक्त अवधिमा आवेदन दिन नसक्नेले मंसिर १८ देखि २४ गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्नेछन् ।

प्रकाशित मिति : November 13, 2026 at 1:52 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/