भीमफेदी दुर्घटनाबारे छानबिन गर्न समिति गठन
२७ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार भएको सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।
कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले एक प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटनाको वास्तविक कारण पहिचान गर्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।
समितिलाई आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ। भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा हिजो (कात्तिक २६) भएको दुर्घटनामा परेर १४ जनाको मृत्यु भएका छन् भने ६ जना घाइते भएका छन् । सरकारले दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री कार्यालयका सहसचिव अर्यालले बताए ।
‘उपचाररत घाइतेहरूको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको छ । घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसक्नुभएको छ भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रचलित बिमा कानुनअनुसार घाइतेहरूको उपचार खर्च तथा मृतकका परिवारले पाउने क्षतिपूर्ति र बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : November 13, 2026 at 1:39 pm










