तरलता व्यवस्थापन गर्न दुई खर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
२७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले २० दिन अवधिका लागि आज उक्त रकम बराबरको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो ।
यसका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइनमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ भने बहुब्याजदरमा पनि आवेदन दिन सकिनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आवश्यकता र रणनीति अनुसार बहुब्याजदरमा समेत बोलकबोल गर्न पाउने छुट दिइएको छ । केन्द्रीय बैंकका अनुसार यो प्रक्रियाबाट संकलन भएको निक्षेपको साँवा तथा ब्याज आगामी मंसिर १७ गते भुक्तानी गरिनेछ ।
बोलकबोलमा भाग लिने संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतममा राष्ट्र बैंकले आह्वान गरेको कुल रकमसम्मै आवेदन दिन सक्नेछन् । तर, त्यसरी आवेदन दिँदा रकम १० करोड रुपैयाँले ठ्याक्कै भाग जाने गरी मात्र तोक्नुपर्ने नियम बनाइएको छ ।
प्रकाशित मिति : November 13, 2026 at 1:03 pm










